समाज

काठमाडौँ महानगरलाई गिज्याइरहेको यातायात व्यवस्था कार्यालय चावहिल

सेवाग्राहीलाई सास्ती : न पार्किङ, न एटीएम, न फोन पे

इकागज |
भदौ २४, २०८१ सोमबार १३:५६ बजे

काठमाडौँ- यातायात व्यवस्था कार्यालय चावहिलमा पार्किङको समस्या हुँदा सेवाग्राही हैरान भएका छन् । यातायात कार्यालय अत्याधुनिक भाडाको घरमा रहे पनि सेवाग्राहीलाई भने पार्किङ गर्ने कुनै व्यवस्था नहुँदा हैरानी भोग्नुपरेको हो ।

काठमाडौँ महानगरका मेयर बालेन साहले प्रत्येक सरकारी कार्यालय, व्यापारिक कम्प्लेक्स र अन्य व्यवसायिक भवनहरूले पार्किङको व्यवस्था अनिवार्य गर्नैपर्ने नियम जारी गरेपनि सरकारी कार्यालयमा नै पार्किङ नभएको पाइएको हो । 


सेवाग्राहीले सडकको दाया बाया पार्किङ गरेर सेवा लिन बाध्य छन् । यातायात व्यवस्था कार्यालयमा सूचना अधिकारी मखमली गिरी कार्यालयमा पार्किङ नभएको स्वीकार्छिन् । 'पार्किङका लागि सडक र करिडोर छ', उनले भनिन्, 'पहिला त त्यो पनि थिएन् ।'

भाडाको घरमा सरेकाले यस्तो समस्या आएको उनले बताइन् । पाँच वर्षको सम्झौता गरेर कार्यालय सर्दा नै पार्किङ नरहेको थाहा भएको उनले सुनाइन् । यातायात व्यवस्था कार्यालय चावहिल सुकेधाराबाट केही महिना अघि गुह्वेश्वरी सरेको हो ।

नयाँ भवनमा सरेको यातायात कार्यालयमा न एटीएम नै छ न सहज रुपमा सेवाग्राहीले कार्यालय जाने बाटो नै । दैनिक ठूलो मात्रामा आर्थिक कारोबार हुने कार्यालयमा बैंकको काउण्टर वा एटीएम नै नहुनुले सास्ती थपेको छ ।

लाइसेन्सको नवीकरण गर्न आएका सोलुखुम्बुका कामी शेर्पाले लाग्दो कर तिर्न एटीएम नहुँदा बौद्ध धाउनुपर्‍यो । 'मैले त फोन पे हुन्छ होला नभए नि बैंकको काउण्टर वा एटीएम छ होला सोचेको थिएँ', शेर्पाले भने, 'यहाँ त अनलाइन सिस्टम त छैन नै बैंकको काउण्टर पनि नहुँदा पैसा तिर्न बौद्धमा रहेको राष्ट्रिय वाणिज्य बैंक पुग्नुपर्‍यो ।'

म जस्तै धेरैले दुख पाउनुपरेको उनले सुनाए । अहिले स्कान गरेर तुरुन्तै बैंकमा पैसा जम्मा गर्न सकिन्छ उनले भने 'सरकारी कार्यालयको पुरानो यो रवैया समय सुहाउँदो नहुँदा हामीले सास्ती पायौँ ।'  

यातायात कार्यालयले पटक पटक धेरै बैंकलाई अनुरोध गर्दा पनि काउण्टर राख्न नमानेको सूचना अधिकारी गिरीले सुनाइन् । 'हाम्रो कार्यालय प्रमुखले पटक पटक ८/१० वटा बैंकलाई आग्रह गर्नुभएको छ तर राखेका छैनन्', उनले भनिन्, 'सरकारी बैंकहरूले पनि राख्न मानेका छैनन् ।' यता अनलाइन पे बारे कुनै सिस्टम नै नभएको उनले बताइन् ।


Author

थप समाचार
x