समाज

घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

इकागज |
भदौ २५, २०८१ मंगलबार १०:३१ बजे

तस्विरः फाइल फोटो

जुम्लाकिसानले घारमा पालेका मौरी धमाधम मर्न थालेपछि अध्ययन गर्न विज्ञटोली जुम्ला आइपुगेको छ । मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको हो ।

मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जिल्ला आइपुगेको हो । टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् ।


यहाँ आएको टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे जानकारी लिन समेत थालेको छ । मौरीपालकका घार हेर्न र टोली गाउँगाउँसम्म पुग्ने जनाइएको छ ।

यहाँ सेराना जातको मौरी यहाँका किसानले पाल्दै आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । व्यवसायिक रूपमा मौरीपालन गरेका किसानको घार अध्ययन टोलीले अध्ययन गर्नेछ ।

सोमबार पातारासी गाउँपालिका–१ पेरेगाउँमा अध्ययन टोली पुगेर अनुसन्धान गरिसकेको छ । मंगलबार गुठीचौर गाउँपालिकाको गुठीगाउँ र बुधबार तातोपानी र चन्दननाथका मौरीपालकका घार हेर्ने र किसानसँग छलफल गरिने कृषि विकास कार्यालयका प्रमुख देवकोटाले जानकारी दिए ।

अध्ययन टोली जुम्ला पुगेकाले मौरीमा देखिएको रोग पत्ता लाग्ने आशा किसानले गरेका छन् । मौरीघारको अवस्था, चरन क्षेत्र र रोग कीराका बारेमा टोलीले अध्ययन गर्ने कृषि विकास कार्यालयले जनाएको छ । -रासस


Author

थप समाचार
x