समाज

पुल्चोकमा पाइपलाइन फुटेर क्षति भएको विषयमा छानबिन गर्न समिति गठन

इकागज |
भदौ ३०, २०८१ आइतबार २२:१० बजे

काठमाडौँ - खानेपानीमन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षति भएका विषयमा छानबिन गर्न समिति गठन गरेका छन् ।

 काठमाडौँ उपत्यकाको बालाजु, पुलचोकलगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही दिनदेखि देखिएको पाइपलाइन फुट्ने र चुहिने समस्याका कारण भएको संरचनात्मक क्षतिबारे स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले समस्याको जड पत्ता लगाउन छानबिन समिति गठन गरेका हुन् ।


 मन्त्री यादवले मन्त्रिस्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरूसहितको प्रतिवेदन पेस गर्न सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् । 

उनले उपत्यकामा मेलम्ची लगायतका स्रोतहरूबाट उपलब्ध पानीको वितरण प्रणालीलाई व्यवस्थित, दिगो र सुरक्षित बनाउन र नागरिकलाई निर्बाध रुपमा सेवा उपलब्ध गराउन समिति गठन गरिएको बताए । बारम्बार पाइपलाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन दिएका छन् ।

उक्त समितिलाई ३० दिनभित्र पाइपलाइन फुट्ने र चुहिने समस्याका कारणहरू, हालसम्मको क्षति र आगामी दिनमा यस्ता समस्याबाट जोगिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मन्त्री यादवले प्रतिवेदनका आधारमा मन्त्रालयले थप कदम चाल्ने र आगामी दिनमा पाइपलाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको बताए । 

 उपत्यकामा भएका पाइपलाइन फुट्ने समस्याले सडक, घर तथा अन्य संरचनामा क्षति पुर्याएको र आगामी दिनमा थप क्षति हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मन्त्री यादवले पाइपलाइन विस्तारका क्रममा गरिएका त्रुटिलाई सुधार गर्दै भौतिक संरचनाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न निर्देशन दिए । 


Author

थप समाचार
x