खेतमा सडे-गलेको अवस्थामा भेटियो शव
२३ दिनदेखि हराएकी सुजिताको शव भएको माइती पक्षको दाबी
फाइल फोटो
जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका–७ एक महिलाको शव सडे–गलेको अवस्थामा फेला परेको छ । स्थानीय २६ वर्षीया महिला सुजिता ठाकुरको हुन सक्ने र हत्या गरी लाश गाडेको आशंका प्रहरीको छ । शरीरको केही भाग सडे–गलेको अवस्थामा भेटिएको हुँदा पहिचान गर्न समस्या भएको हो । गत १९ जेठदेखि बेपत्ता रहेकी सुजिताकै रहेको पुष्टि नभए पनि माइती पक्षले आफ्नै छोरीको रहेको र उनको हत्या भएको दाबी गरेका छन् ।
मृत शरीर गलाउन मलखाद र नुनको समेत प्रयोग गरिएका कारण शव गलिसकेकाले पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ । तर दाइजो नदिएको र घरायसी विवादका कारण तिनैको परिवारले हत्या गरेको दावी सुजिताका भाइ शिवम पाण्डेको छ । उनले भने, ‘यसअघि पनि पटक-पटक कुटपिट हुँदै आएको थियो ।’
सुजिताका पिता कामेश्वर पाण्डेले ‘शवका भाग र कपडाका कारण आफ्नै छोरीको भएको’ बताए । सुजाता २३ दिनदेखि बेपत्ता थिइन् । घरबाट एक किलोमिटर दूरीमा उनकै खेतमा गाडिएको सडे–गलेको अवस्थामा प्रहरीले झिकेको हो । पाण्डेले ‘थप दाइजोका लागि शुरूदेखि ससुरा पक्षले यातना दिँदै आएको दाबी’ पनि गरे ।
हत्यापछि खेतमा गाडेको आशंकामा सुजिताको माइती पक्षको सहयोगमा प्रहरीले उत्खनन् गरेको हो । माटोमा मिसिएको कपाल, नङ र रगतका अंश फेला परेपछि प्रहरीले उत्खनन् गरेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।
उनले भने सुजिता बेपत्ता भएपछि हत्याको आशंकामा आरोपितविरूद्ध प्रहरीले न त निवेदन दर्ता गरे न खोजतलाश नै । प्रहरीले सहयोग नगरेपछि सुजिताका आफन्तले पछि महिला अधिकारकर्मीहरूलाई गुहारे । ती अधिकारकर्मीको सहयोगमा मधेसी आयोगमा उजुरी दिएका थिए ।
आयोगका अध्यक्ष डा. विजय दत्तले सुजिता बेपत्ता घटनाको छानविन गर्न निर्देशन दिएपछि प्रहरीले उत्खनन कार्य शुरू गरेको महिला अधिकारकर्मी गुञ्जा रायले बताइन् । यता मृतकका आफन्तले शव सुजिताकै रहेको दाबी गरे पनि प्रहरीले पुष्टि गरेको छैन ।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले भने, ‘अपहरित भनिएका महिलाको आफन्तले शव सुजिताको रहेको दाबी गरेपनि उत्खनन्मा भेटिएका सामाग्री मानव शव नै हो अनुसन्धान बिना भन्न सकिँदैन ।’
उनले भने, मलखाद् र नुनसहितमा माटोमा मिसिएको अवस्थामा केही नङ्ग र कपालका भेटएको हो । प्रहरीले उत्खन्नमा भेटिएका सामाग्री नियन्त्रणमा लिइसकेको छ । त्यसलो चेक जाँचका लागि फोरेन्सिक ल्याबमा पठाउँछाँै । त्यसको रिपोर्ट आएपछि मात्रै केही भन्न सकिन्छ । तर प्रहरीले अनुसन्धान आजैदेखि थालिसकेको छ ।’
पिडीत पक्षको निवेदन नलिएकाबारे उनले भने, ‘हामी कहाँ कसैले बेपता भएको भनी कुनै निवेदन लिएर आएको छैन । महिला अधिकारकर्मीहरूको निवेदनका आधारमा प्रहरीले अनुसन्धानका क्रममा उक्त ठाउँमा उत्खनन् गरेको हो ।’ गत ११ वर्षअघि मुकेश ठाकुरसँग उनको बिहे भएको थियो । मुकेशको मानसिक सन्तुलन ठीक नभएको र उनका एक ६ वर्षीय छोरा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया