समाज

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ'

इकागज |
असोज ५, २०८१ शनिबार ६:३१ बजे

रिलु, मष्टा (बझाङ)- करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ ।

लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको । मष्टा गाउँपालिका- ६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड छ । उनको जीवनमा पहाडको उकालो आइलागेको ८ वर्ष जति भयो । ७ वर्षदेखि उनी एकल महिलाको रुपमा छिन् ।


भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार जीविका धानिरहेका श्रीमान् एक्कासि बिरामी भएर थला परेपछि उनको दुःखका दिन सुरु भएका थिए । “श्रीमान् बिरामी भएपछि धेरै ठाउँमा उपचार गर्‍यौँ । आफन्तको सहयोगमा धेरै अस्पताल चहार्दा पनि केही भएन । फेरि घर ल्याएको केही समयमै उनले प्राण त्यागे”, विष्नाले भनिन् ।

श्रीमानको निधनपछि विष्नाका सबै सपना अधुरा रहे । बालबालिकाको पढ्ने चाहना पनि बाध्यताको पहाडमै थिचियो । परिवारको सहारा टुट्यो । छिमेकीको भरोसा ढल्यो ।

“उनको निधनपछि गाउँलेबाट हरेक कुरामा हेपिँदै आयौँ । गाउँमा बस्ने अवस्था रहेन । त्यसैमाथि घर पनि भत्कियो । अन्धकार दुनियाँबाट बाहिर निस्कन पनि लेकको घरमा बसाइँ सर्‍यौँ । अहिले यहाँ समाज भएर पनि नभएजस्तै जीन्दगी बिताइरहेका छौँ”, उनले भावुक हुँदै भनिन् ।

गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्नाको चाहना थियो । तर एक गाँस खानैका लागि सङ्घर्ष गर्नुपर्ने उनलाई पेटको भोकभन्दा भविष्यको चिन्ता फिक्का लाग्यो ।

त्यसैले बालबालिकालाई पढाउने सपना सपनामै सीमित रहन पुगेको थियो । विष्नाले अहिले भने गरिब तथा एकल महिला भनेर सङ्घसंस्थादेखि केही मन मिल्ने आफन्तको सहयोगमा गाउँकै आधारभूत विद्यालयमा बालबालिकालाई भर्ना गराएको छिन् ।

“गाउँमा उब्जनी केही हुँदैन, सबै किनेर खानुपर्छ । पहिले पहिले त साग तरकारी पनि गाउँमा पलाउँथ्यौँ, कैयौँ छाक साग सिस्नोले पनि गुजारा चल्थ्यो । आजभोलि बर्खाबाहेक अरू समयमा पानी पाइँदैन । त्यसैले उब्जनी हुँदैन”, उनले सुनाइन् ।

आफ्नो उब्जनीले तीन महिना मात्रै खान पुग्ने गरेको विष्ना बताउँछिन् । “बाँकी ९ महिना बेसा (अन्न किन्नुपर्ने) अवस्था छ । साउन र भदौ मात्रै अलिकति हरियोपरियो हुन्छ । बाँकी महिना त खडेरी नै हो”, उनले भनिन् ।

५६ वर्षीया विष्नाका पाँच सन्तानमध्ये कान्छी हुन् छोरी बिमला । बिमलाले अहिले ७ वर्षमा पाइला टेकिन् । उनी गर्भमा हुँदा नै बुबाको देहान्त भयो । विष्णाले बुबाको अभाव नहुनेगरी छोराछोरीलाई हुर्काइन् ।

आफूले जति दुःख पाए पनि छोराछोरीले त्यति दुःख नपाऊन् भन्ने विष्नाको चाहना छ तर अभाव अभावमा गुज्रिएका परिवारलाई दुःख मेटिनु सपना झैँ हुन लागेको उनको कथन छ । विष्ना अहिले लेकमा बसेर वस्तुभाउ पालिरहेकी छन् ।

चार सन्तान रिलुकै विद्यालयमा पढ्न जान्छन् भने एक जनालाई वडाध्यक्ष शिवराज बोहराले सदरमुकाम चैनपुरमा आफैँसँग राखेर पढाउन सहयोग गरिरहेकी छन् । “गाउँमा सबैका दुःख छन्, विष्नाको परिवारलाई त अझ धेरै नै दुःख छ । बालबालिका पढ्नसमेत नपाएको हुँदा एक जनालाई आफैँसँग राखेर पढाइरहेको छु”, वडाध्यक्ष बोहराले भने, ““सबै बालबालिकालाई पढाउन सकिएन । गाउँमा धेरै बालबालिका शिक्षाबाट वञ्चित छन् । त्यसैमा पनि अति धेरै पीडा विष्नालाई भएको हुँदा एक बाबुलाई मैले पढाइरहेको छु ।”

 यी समस्या त छँदै थिए, गत वर्ष असोज १६ गतेको भूकम्पले लेकको छानोमा समेत क्षति पुर्‍याएपछि पीडामाथि थप पीडा थपियो । “पीडै पीडा भइरहेका बेला फेरि भूकम्पले पीडा दियो,” विष्नाले भनिन्, “आफ्नो भाग्यमा खुसी भन्ने लेखेकै रहेनछ ! एउटा च्यातिएको त्रिपालको सहारामा एक साता खुला ठाउँमा काट्यौँ । पालिकाले अरू भूकम्पपीडितका जस्तै हाम्रो लागि पनि सानो टहरा बनाइदिएपछि केही सहज भयो ।”

भूकम्प आएपछि धेरैले सहयोग गर्ने वचन दिएको उनी सम्झिन्छन् । “धेरैले सहयोग गर्ने भने पनि एउटा संस्थाले रु १५ हजार सहयोग गर्‍यो । सोही रकमबाट चामल किनेर चार- पाँच महिनासम्म खायौँ । अरू समस्या त छँदै थियो । बासकै पनि समस्या थपिएपछि घर न घाट जस्तै भएका थियौँ । पछि स्थानीय सरकारको समन्वयमा टहरा पाएका छौँ । बस्ने व्यवस्था भएको छ,” उनले भनिन् ।

 


Author

थप समाचार
x