महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा
म्याग्दी- कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ ।
उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो ।
क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । कार्यालयका प्रमुख रमेश थापाले महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिए ।
“म्याग्दीमा १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडी मुलुक जाने चलन बढी देखिन्छ”, उनले भने, “उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्षित गरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो ।”
म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा हाल जिल्लाका छ वटै स्थानीय तहका ३३ जना महिला सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका हुन् ।
अप्राविधिकतर्फको प्रशासन सहायक (पाँचौँ) र खरिदार (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्ष पनि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको थियो ।
तयारी कक्षामा सहभागी प्रमिला पौडेलले तयारी कक्षाले निकै फाइदा गरेको बताउनुभयो । उहाँले उत्तर लेख्ने शैलीबारे राम्रो ज्ञान पाएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया