समाज

'जुम्लामा नूनको अभाव छैन'

इकागज |
असोज ९, २०८१ बुधबार १७:१० बजे

फाइल फाेटाे

जुम्ला - साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नून मौज्दात रहेको छ । दसैँतिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नुनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिए । 

जिल्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नून मौज्दात रहेको उनले बताए । यहाँस्थित डिपोमा अहिले एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको जनाइएको छ । यही असोज ६ देखि १५ गतेसम्म चन्दननाथ नगरपालिकासहित पातारासीका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई वडाको सिफारिसका आधारमा नुन वितरण गरिएको छ ।


कार्यालय प्रमुख थापाले भने, “सिंजाको नराकोट डिपोबाट हिमा र सिंजा गाउँपालिका र गुरुचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई नून वितरण गरिएको छ । यस आर्थिक वर्षमा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार क्विन्टल नुनको कोटा रहेको छ । जिल्लामा नुनको अभाव हुनेछैन ।” 

वडाबाटै नुन वितरण गर्न आवश्यक व्यवस्था मिलाइएको छ । कार्यालयले सिंजाको नराकोट डिपो, कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपो र सदरमुकामस्थित खलङ्गा बजारको कार्यालयबाट नुन वितरण गर्दै आएको छ । 
 


Author

थप समाचार
x