सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा
नुवाकोटकी सीतामायाको उमेर ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीतामायाको वरिपरि छोराछोरी, नातिनातिना हुनुपर्ने हो । तर उनी वृद्धाश्रममा हुँदा छाेरा अमेरिकामा छन् । 'बुढाको पहिले नै स्वर्गबास भयो, सन्तानका नाममा त्यही एउटा छोरो थियो, त्यही छोराले बुढेसकालमा पाल्ला त नि भनेको उसले पनि मलाई यहाँ आश्रममा छोडेर आफ्नो श्रीमती र छोरो लिएर अमेरिका गाको छ रे', लौरोको सहारा लिइरहेकी सीतामायाले भनिन् ।
सीतामाया वृद्धाश्रममा बस्न थालेको पनि पाँच वर्ष भयो । यसबीचमा आफूलाई वृद्धाश्रममा छोडेर गएपछि एकपटक पनि छाेरो फर्केर नआएको उनको गुनासो छ । छोराले बुहारी र आफ्नो छोरो लिएर अमेरिका गएको कुरा सीतामायाले आफूलाई वृद्धाश्रममा भेट्न आएका गाउँलेको मुखबाट सुनेकी थिइन् । कुन आमाको चाहना हुँदैन र ! जिन्दगीको उत्तरार्द्धमा डाँडामाथिको जुनजस्तै भएको बेला सन्तान साथमै नहोस् । आफ्नो ज्यान आफैँलाई भारी भएर घुडाँले बुढो शरीर धान्न नसकेको बेला घर, परिवार, छोराछोरी, नातिनातिना आफन्तको सहारा होस् । तर उनले अहिले वृद्धाश्रममा मृत्यु पर्खेर बसेजस्तै भएको छ ।
सीतामायाको मात्रै होइन, अहिले वृद्धाश्रममा बस्दै आएकी ७८ वर्षीया चन्द्राकुमारीको पनि एउटा छोरा अस्ट्रेलियामा बस्छन् । सिन्धुली घर बताउने चन्द्राकुमारीको अर्को छोरा आफ्नो परिवारसहित भारतमा बस्छन् । चन्द्राकुमारीको श्रीमान्को मृत्युपछि आमालाई कसले पाल्ने भन्नेबारे दुई भाइबीचमा किचलो सुरु भयो । उनले भनिन्, 'बुढा बितेपछि सम्पत्तिका लागि दुईभाइ झगडा गर्न थाले, भएको सबै सम्पत्ति आआफ्नो नाममा गरेर एउटा अस्ट्रेलिया गयो, अर्को पनि आफ्ना केटाकेटी लिएर भारततिर गयो, त्यसपछि म बूढीको साहरा कोही नभएपछि गाउँलेकै साथ लाएर वृद्धाश्रममा आएर बसेकी छु ।'
चन्द्राकुमारीलाई कहिलेकाहीँ विरक्त लाग्छ । सन्तान हुनुभन्दा बरु नभएको भए हुन्थियो जस्तो लाग्छ । कहिलेकाहीँ उनी विगत सम्झेर रुने गर्छिन् । वृद्धाश्रममा आफूजस्तै अरुहरूको पनि अवस्था देख्दा चित्त बुझाउने गर्छिन् । संसार यस्तै हो, आफ्नो भाग्य जस्तो छ, त्यस्तै भोग्ने हो भनेर चित्त बुझाउँछिन् । ‘म यता आएर बसेपछि बहिनीको छोराले मैँले पाल्छु भन्दै लिन आएको पनि थियो, म गइनँ, जब आफैँले नौ/नौ महिना कोखमा राखेर, जन्माएर, हुर्काएर, पोलनपोषण गरेका आफ्ना छोराले त हेरेनन् भने बहिनीको छोराले म पाल्छु भनेर मात्रै भएन, मलाई पाल्न मसँग पैसा, सम्पत्ति केही पनि छैन, यसलाई पनि किन दुःख दिने भनेर गइनँ’, चन्दाकुमारीले सुनाइन् । सन्तान भएर पनि बुढेशकालमा एक्लो जिन्दगी जिउनु पर्दा साह्रै विरक्त लाग्छ चन्द्राकुमारी जस्ता थुप्रै आमाहरूलाई ।
मानव सेवा आश्रममा आश्रय लिइरहेकी ९० वर्षीया लक्ष्मी भट्टको पनि सीतामाया र चन्दाकुमारीको जस्तै मनभरि पीडा छन् । बाबुको मृत्युपछि दुई भाइ छोराले भएको सबै सम्पत्ति कुम्ल्याए र आमालाई सडकमा वेवारिसे छाडे । बुढेसकालमा आफ्नै छोराहरूको आखाँको कसिङ्गर भएपछि उनी आश्रमको आड लागेको पनि वर्ष दिन भयो । अहिलेसम्म न छोरा न त कोही आफन्त नै खोजी गर्न आए । बुढेसकालमा पाल्ने एक मात्र छोराले सडकमै छाडेपछि टोखास्थित पवित्र समाज सेवा नेपालमा आश्रित हुनुपरेको छ ६० वर्षीया सुन्तली आमालाई । उनको पीडा पनि आश्रममा रहेका अन्यको भन्दा फरक छैन ।
पछिल्लो समयमा बुढा भएका आफ्ना बाबुआमालाई वेवारिसे वा वृद्धाश्रममा लगेर छोड्ने र आफू विदेश पलायन हुने संस्कार बढ्दै गएको छ । धेरै आमाहरू सन्तान भएर पनि निभ्ने बेलाको जिन्दगीलाई वृद्धाश्रमको सहारामा जबरजस्त धकेलिरहेका छन् । सन्तान भएर पनि वृद्धाश्रमको आड लिनुपर्ने बाउ (बाबु)हरू पनि उत्तिकै छन् । पशुपति वृद्धाश्रमलगायत देशका विभिन्न स्थानमा आश्रय लिने अधिकांश वृद्धवृद्धाको सन्तान छन्, तर हेर्दैनन् ।
एकातिर सन्तान भएर पनि आश्रममा आश्रित जीवन बाँच्नु पर्दाको पीडा छ भने अर्कातिर शारीरिक अस्वस्थता, मानसिक तथा मनोवैज्ञानिक पीडा, एक्लोपना उदासिनता र हिनताबोधको पीडा । वृद्धाश्रममा बस्ने अधिकाश वृद्धवृद्धामध्ये धेरैका छोराबुहारी अमेरिका, अस्ट्रेलिया, बेलायतलगायतका मुलुकमा डाक्टर, इन्जिनियर छन् । कतिपय राजनीतिक दलका नेता तथा व्यापारी समेत छन् । तर पनि आफ्ना आमा बाबुलाई वृद्धाश्रममा लगेर थन्काएका छन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले सम्पत्तिका कारण वृद्धवृद्धाहरू बुढेसकालमा आफ्ना सन्तानबाट एक्लिनु परेको बताउँछन् । नयाँ पुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान्, श्रीमती, छोरा/छोरी) को संरचनाभित्र जन्म दिने बाबुआमा नअटाएको देखिन्छ । ज्येष्ठ नागरिक अधिकारकर्मी सीताराम ढकाल सम्पत्ति खाने छोराछोरीले नै आफ्ना बाबुआमालाई पाल्नुपर्ने बाध्यकारी ऐन/कानुन बनाएर व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तर्क गर्छन् । -सुशील दर्नाल
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया