समाज

विद्यासुन्दर शाक्यको चार वर्ष; प्राथमिकतामा अपांगमैत्री पार्क पर्‍यो, पुल परेन

अतिन आचार्य |
असार १४, २०७८ सोमबार १८:३३ बजे

काठमाडौँ : विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको प्रमुख भएको सोमबार (आज ) ठयाक्कै चार वर्ष पूरा भएको छ । उनी २०७४ जेठ १४ गते महानगरको प्रमुखमा निर्वाचित भएका थिए । गत निर्वाचनमा उनको घोषणापत्रमा निकै आकर्षक थियो । निर्वाचनमा १०१ घोषणा उनले गरेका थिए । घोषणापत्रलाई निर्वाचनमा परिणाम आफ्नो पोल्टामा पार्ने अस्त्रका रूपमा मात्रै प्रयोग गरे ।

शाक्यले १०१ घोषणा मात्र गरेनन् अझ १०० दिनमा ती सबै पूरा गर्ने बाचा समेत गरेका थिए । उनी निर्वाचित भएको एक हजार ४६० दिन भइसक्दा सबै घोषणाहरू पूरा हुन सकेका छैनन् । अर्को महत्वपूर्ण कुरा उनी नगर प्रमुख निर्वाचित भएपछि तीन वटा मात्र आकाशे पुल निर्माण भएका छन् । तर कुनै पनि पुल अपांगमैत्री छैनन् । चावहिल,माइतीघर र विष्णुमतीको लिङ्क रोडमा फलामका आकाशे पुल बनेका छन् ।


शाक्यको प्राथमिकतामा अपांगमैत्री पार्क पर्‍यो तर पुल परेन । नगरप्रमुख र उपप्रमुख दुवैसमक्ष अपांगमैत्री संरचना निर्माण गरिदिन राष्ट्रिय अपांग संघले पटक-पटक आग्रह पनि गरेको थियो । तीनवटा पुल बन्दा कही पनि अपांगमैत्री पुल नबन्‍नुमा महानगरले उनीहरूको सुविधाप्रति महानगर गम्भीर नबनेको प्रमाणित भएको छ ।

पुलबाट आवतजावत गर्न सबैभन्दा बढी व्हीलच्येर प्रयोगकर्तालाई अप्ठयारो भएको छ । महानगरपालिकाभित्र अपांगमैत्री संरचना नबन्दा अधिकांश शारीरिक रूपमा दुर्बल मानिसलाई समस्या भएको छ । दुई करोड रुपैयाँभन्दा बढी खर्च गरी तीन वटा पुल बनाए तर अपांगमैत्री पुल बनाउन नसक्दा हिंडडुल गर्न गाह्रो भएको उनीहरू बताउँछन् ।

संघीय राजधानी भएको महानगरपालिकाले अपांगमैत्री भौतिक संरचना निर्माण नगर्दा शारीरिक रूपमा कमजोर मानिसलाई गाह्रो भएको राष्ट्रिय अपांग महासंघका संघीय महासचिव राजु बस्नेत बताउँछन् । काठमाडौँ महानगरपालिकाका जिम्मेवार व्यक्तिलाई भेटेर अपांगमैत्री संरचना बनाउनलाई आग्रह गर्दा पनि नबनाएकोमा उनले गुनासो गरे ।

तीनै तहका सरकारले अपांगमैत्री निर्देशिका बनाए पनि कार्यान्वयन नगरेको बस्नेतको भनाइ छ । 'केन्द्र सरकारले अपांगमैत्री संरचना निर्माण नगरे पनि स्थानीय सरकारले संरचना निर्माण गरी शारीरिक रूपमा अशक्त मानिसलाई राहत प्रदान गर्ने आशा राखेको थिएँ तर भएन, ' उनले भने ।

२०६८ सालको जनगणना अनुसार काठमाडौँ जिल्लामा शारीरिक रूपमा अशक्त १७ हजार १२२ छन् । जसमध्ये पुरुष ९ हजार १४४ र महिला सात हजार ९७८ छन् । शारीरिक रूपमा अधिकांश अशक्त मानिसहरूको कार्यालय महानगरभित्र रहेकाले सार्वजनिक यातायातबाट आउनुपर्दा पुलको प्रयोग गर्दा समस्या भएको उनले बताए ।

'महानगरपालिकाले बनाएका फलामको पुल शारीरिक रूपमा अशक्त मानिसलाई एकदमै जोखिम रहेको छ,'बस्नेत भन्छन,' फलामको सट्टा सिमेन्टेको पुल बनाएर अपांगमैत्री संरचना बनाएको अशक्त मानिसलाई सहज हुन्थ्यो ।'

विद्यासुन्दर शाक्य महानगरमा प्रमुख भएर आएपछि तीनवटा मात्र पुल बनेको भौतिक पुर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा बताउँछन् । उनका अनुसार प्राविधिक रूपमा स्थान अभाव भएकाले अपांगमैत्री पुल बनाउन नसकेको हो ।

फुटपाथ सानो भएकाले पनि अपांगमैत्री पुल बनाउन नसकिएको थापाले बताए । बानेश्वरदेखि तीनकुने पुलसम्मको सडकमा मात्र अपांगमैत्री पुल बनाउन सकिने उनले जानकारी दिए ।

हालसम्म महानगरपालिकाले साना-ठूला पुल गरी १० पुल निर्माण गरिसकेको थापाको भनाइ छ । तीनवटा आकाशे पुल र बागमती, धोबी खोलामा गरी अन्य साना खोलामा गरी ६ वटा साना फलामे पुल निर्माण गरिएको उनले बताए । अहिलेसम्म पुल निर्माणमा दुई करोड रुपैयाँभन्दा बढी खर्च भएको उनले जानकारी दिए ।

 

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x