समाज

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण केन्द्र

इकागज |
असोज ११, २०८१ शुक्रबार २१:४७ बजे

लुम्बिनी- लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना भएको छ । चिनियाँ भाषा सिकाइ केन्द्र नेपालमा चौथो र काठमाडौँ बाहिर पहिलो हो । यस केन्द्रमा एचएसके तहका परीक्षाहरू चल्ने छन् । चीनमा अध्ययनका लागि जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ ।

सिकाइ केन्द्रको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक रुपमा उद्घाटन गरेका छन् । त्यस अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चीनको हनान विश्वविद्यालयबीचमा चिनियाँ भाषा सिकाइ केन्द्र सञ्चालन सम्बन्धमा सहकार्य सम्झौता गरिएको छ ।


मुख्यमन्त्री आचार्यले नेपाल र चीन दुई देशबीचको मित्रता अझ सुमधुर बनाउन सिकाइ केन्द्रले योगदान गर्ने बताए । “दुई देशबीचको भाषा, संस्कृतिको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु”, मुख्यमन्त्री आचार्यले भने, “चीनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने छ ।”

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुर्वणलाल ब्रजाचार्यले विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताए । एचएसके परीक्षाका लागि काठमाडौँ जानुपर्ने बाध्यता अत्यन्त गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्यले एक वर्ष अगाडि चीनको हनान विश्वविद्यालयसँग भएको सहकार्य सम्झौताअनुसार चिनियाँ भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिए । यो उपलब्धिले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयमा आजै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चीनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ । चीनको हनान विश्वविद्यालयका अध्यक्ष छ्वाङ क्वाङ्लिनले नेपाल र चीन दुई देशबीच सुमधुर सम्बन्ध विस्तार गर्न प्रशिक्षण केन्द्र महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेपाल र चीनका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

 


Author

थप समाचार
x