समाज

पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई दिए जग्गा

इकागज |
असोज १३, २०८१ आइतबार १७:३० बजे

भोजपुर - कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन् । उनले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हाते ट्याक्टर उपलब्ध गराएका हुन् ।

प्रकाशले आफ्नै पुर्ख्यौली गाउँमा कृषि पेसामा आबद्ध हुने इच्छा व्यक्त गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमुख्यमन्त्री राईले कृषि गर्न आवश्यकपर्ने जग्गासहति गोरु र हाते ट्रयाक्टर उपलब्ध गराएको बताए । उनले हजारौँ युवा विदेश गइरहेको वर्तमान अवस्थामा प्रकाशले आफ्नै ठाउँमा खेती किसानी गर्ने इच्छा गरेकाले आवश्यक सहयोग गरेको उल्लेख गरे । 


पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई गाउँमा एक उदाहरणीय कृषक बनेर काम गर्नसमेत आग्रह गरे । प्रकाशलाई उनले एक महिना अघि रु एक लाख नगद पनि सहयोग गरेका थिए । 

पूर्वमुख्यमन्त्री राई पत्नी जाङ्मु इन शेर्पाको पहलमा प्रकाशलाई मालपोत कार्यालय भोजपुरमा उक्त जमिन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाका नाममा रहेको जग्गा प्रकाशका नाममा पास गरिदिएपछि आज एक कार्यक्रमकाबीच लालपुर्जा हस्तान्तरण गरेका हुन् ।

 जग्गाको लालपुर्जासँगै कृषि सामग्री पाएपछि प्रकाशले राई दम्पतीले गरेको सहयोगले कृषिकर्ममा लाग्न थप हौसला मिलेको बताए । जग्गा प्रदान कार्यक्रममा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, स्थानीय जनप्रतिनिधिसहित स्थानीयवासीको उपस्थिति थियो । परिवारको सम्पर्कबाट करिब ३५ वर्ष बाहिर रहेका तामाङ हेर्ने कथामार्फत सम्पर्कमा आएका थिए । 


Author

थप समाचार
x