समाज

वायुसेवा सञ्‍चालक संघले टिकटको मूल्य घटाएको भन्दै झुटो प्रचारमा मन्त्री पाण्डे, मुकदर्शक सरकार

इकागज |
असोज १४, २०८१ सोमबार १२:२४ बजे

काठमाडौँ- वायुसेवा सञ्‍चालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्याएको छ । आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अधिकतम मूल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो ।

अहिले सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुई दिनदेखि तीनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै झुक्याएको हो । अहिले उपलब्ध अनलाइन र विमान कम्पनीका वेभसाइटहरूमा पनि १६ गतेसम्मका टिकट उपलब्ध रहेको छैन ।


वायुसेवा कम्पनी यति एयरलाइन्सको वेभसाइटमा असोज १६ गते काठमाडौँदेखि भैरहवाको भाडादर ८ हजार ५५५ देखाएको छ । जबकी यसअघि सामान्य अवस्थामा यतिले यहि रुटमा ५ हजार २ सयमा टिकट बेचिरहेको थियो । त्यस्तै इसेवामार्फत हेर्दा १७ गतेका लागि ६ हजार २२२ टिकटदर देखाएको छ ।

संकटको अवस्थाक साथै चाडपर्वको अवसरमा वायुसेवा कम्पनीले भाडामा मनोमानी गर्ने गरेको पहिलो पटक भने होइन । हरेक वर्ष चाड पर्वमा हवाई भाडादर आकाशिने गरेको पाइन्छ । तर सरकार र नियमन निकाय भने अहिलेसम्म एक्सनमा आएको पाइँदैन ।

संघले आइतबार भनेको थियो 'संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरूले यस विपद्को घडिलाई मध्यनजर गर्दै असोज १४ गते सोमबारदेखि असोज १६ गते बुधबारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरियो ।'

अर्कोतर्फ पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले पनि सचिवालयमार्फत मन्त्रीको पहलमा वायुसेवा कम्पनीले टिकटको मूल्य घटाएको झुटो प्रचार गरे । तर आम यात्रुले १६ गतेसम्म टिकट नै नपाएको अवस्थाको आँकलन मन्त्री स्वयंले गर्न सकेको देखिएको छैन ।

मन्त्री पाण्डेको सचिवालयले आइतबार भनेको थियो-
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरूले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् । 

मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग बसेको बैठकपछि हवाई कम्पनीहरूको संस्था वायुसेव सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन् । देशमा हालै भएको बाढी पहिरोको विपद्‌का कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम् दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ ।

विपद्‌का बेला राजमार्गहरू बन्द भएको र यात्रुहरू अप्ठ्यारोमा परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट बिक्री गर्दा सर्वधारणलाई समस्या भएको व्यापक गुनासोपछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो ।


Author

थप समाचार
x