समाज

अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ भित्रिए

इकागज |
असोज १४, २०८१ सोमबार १६:७ बजे

काठमाडौँ - त्रिभुवन राजपथ अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।

 गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए । उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए । 


“आजदेखि काठमाडौँ उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरने छन्”, उनले भने, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।”

आजै दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढीपहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका थिए । 

 “आज साझँसम्म काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्छ”, प्रवक्ता तिवारीले भने, “अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरुको उद्धार गरिरहेको छ ।”

 प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा सामान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । “अबरुद्ध सडक खुल्ने र खुलाउने क्रम  जारी छ”, उनले भने, “अझै पहिरोलगायत जोखिम टरिसकेको छैन ।”

अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ । “रोशी गाउँपालिकालगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदैछ”, प्रवक्ता तिवारीले भने, “घाइतेहरुको उद्धार र उपचार निःशुल्क भइरहेको छ ।”
रासस


Author

थप समाचार
x