समाज

बिपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै फर्कन थाले

इकागज |
असोज १४, २०८१ सोमबार १७:२५ बजे

फाइल फाेटाे

काठमाडौँ - अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट बिपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै फर्कन थालेका छन् । 

काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्मको विभिन्न स्थानको सडक अवरुद्ध भएपछि फसेका यात्रुहरू पैदलै फर्कन थालेका हुन् । तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरूले गुनासो गरेका छन् ।


उनीहरुले सडक खोल्नका लागि ढिलाई भएको गुनासो समेत गरेका छन् । काभ्रेको १३  वटा स्थानीय तहमध्ये रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिका धेरै बाढी र पहिरोबाट प्रभावित भएका छन् । राजमार्गमा सयौं यात्रुहरू बीचबाटोमै ३ दिनदेखि अलपत्र परेका छन् ।

३ दिनसम्म बाढी र पहिरोले सडक अवरुद्ध भएपछि राजमार्गमा फसेर पैदलै फर्केका यात्रुहरूले सहज रुपमा पानी खाना समेत नपाएको जनाएका छन् ।

बाढी, पहिरोबाट प्रभावित र राजमार्ग अलपत्र अवस्थामा रहेका यात्रुहरूलाई उद्धार गर्नको लागि आइतबार बिहानबाट नेपाली सेनाले खाद्य रासन हेलिकप्टरमार्फत उपलब्ध गराएको थियो । तर हेलिकप्टरबाट हजारौं यात्रुको उद्धार सम्भव देखिएको छैन । काभ्रेमा मात्रै बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । 


Author

थप समाचार
x