समाज

बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

इकागज |
असोज १७, २०८१ बिहीबार १५:४३ बजे

सांकेतिक तस्विर

काठमाडौं- बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकबाट आज बिहानसम्म १७ हजार भन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।

उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजी जारी रहेको जानकारी दिँदै विपद्का घटनामा घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध गरिएको बताए । “घाइते मध्ये अघिकांश घर फर्किसक्नु पनि भएको छ,’’ प्रवक्ता तिवारीले भने“ विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत सामग्री समेत वितरण गरिएको थियो ।”


 गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्याकाबाट २ हजार १५८ , कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ , सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।

 “ प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर यो अवधीमा उद्दारकार्य गरियो ”,, उनले भने “ खोज तथा उद्दारको काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तीव्र रुपमा भइरहेको छ ।”

 त्यसैगरी गृह मन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय भइरहेको छ । उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई उद्धार, राहत वितरण र घाइतेहरुको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुहरूको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरूसित पनि छलफल गरेका थिए । त्यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ ।

प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ । सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपद्मा परेका नागरिकहरूको सहजीकरणका लागि कार्यदल खटाएको छ ।

कार्यदललाई प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ । –रासस

 


Author

थप समाचार
x