उमालाई किन रातभर निद्रा लाग्दैन ?
‘सरकार गरिबलाई देख्दैन, देख्नेले पनि हाम्रो सामानमा मोलमोलाइ मात्र गर्छन्’
काठमाडौं : एम्बुलेन्सको टुइँइँइँइँ साइरनमा उमा खत्रीको आवाज पनि मिसिन्छ-लिची लिनुस्, आँप लिनुस् । किलोको जम्मा २०० मात्रै । ‘दसहरी आँप हो दिदी लाने ?’ प्रश्नले भरिएका आँखा उठाएर उनी आँपको दाना उचाल्दै ग्राहकलाई देखाउँछिन् । ग्राहक पनि हेर्छन् मात्रै । किनिदिँदैनन् ।
चाबहिलको कालोपत्रे पोतिएको सडकलाई रंगमञ्च बनाएर आँप र लिचीले भरिएका ठेला यताउति नचाउँछिन् उनी । त्यति गर्दा पनि बिक्री हुँदैन । अनि ठेला अगाडि राखेर बेलाबेला टोलाउँछिन् ।
व्यापार होला कि ? आशासहित चारैतिर आँखा पनि डुलाउँछिन् । पाउँछिन् निराशा मात्रै । ती आँप–लिची किन्न कोही ठेला नजिक आइदिँदैनन् । मनमा चिसो पस्छ, उनको । आएका ग्राहक पनि महँगो भयो भन्दै फर्कन्छन् । महँगो त मलाई पनि परेको छ नि, त्यो कसले बुझिदिने ? उनी पीडा भरिएको सानो स्वर निकालेर बोल्छिन् । तर उनको त्यो पीडा त्यतिखेरै बिलाउँछ ।
थोप्पो व्यापार नभएर दिग्दार बनेका उनका आँखामा छोराछोरी खान पाउँदैनन् कि भन्ने पीर देखिन्थ्यो । साँझ धिमी हुँदै गर्दा उनको कमाइ हुने आशा पनि धुमिल बन्दै थियो ।
यत्तिकैमा परैबाट लिचीको भाउ सोध्दै एक ग्राहक उनीछेउ आए । भाउमा मोलतोल गरेपछि ग्राहकले एक केजी लिची लाने भए । उमाले सडकमा गुडिरहेका गाडीको उज्यालो समात्दै लिची जोखेर थमाइदिइन् । त्यसपछि बल्ल अलिकति खुसी बल्यो उनको अनुहारमा ।
भुइँ मानिसहरूलाई जीवनमा धेरै चाहिँदैन । बस्, पेटभरि खान र सम्मानको जिन्दगी भए पुग्छ । उमा भन्छिन्, ‘म जस्तालाई धेरै आशा पनि छैन । देश बनाउने दौडमा दगुर्नु पनि छैन । हामीलाई त सामान्य र शान्त जीवन चाहिएको छ । यी भुँइमा बसेर भुँइमै संघर्ष गर्नेहरू कोभिडको मारमा झनै पिल्सिएका छन् । यसमा आफूहरूलाई राज्यले नहेरेको गुनासो गर्छिन् ।’
यसभन्दा अघि गोपीकृष्णमा फिल्म हेर्न आउनेलाई १४ वर्षदेखि चिया खुवाएर छोराछोरीका लागि चारो जुटाउँथिन् उनी । पोहोरको फागुनतिर लकडाउन लाग्यो । उनको व्यापरमा चाहिँ दशा । ‘लकडाउनपछि चिया बेच्न दिइएन’ उनी भन्छिन्, ‘बेच्न दिए पनि कोरोना लाग्छ भनी कसैले खाएनन् ।’
अनि उनी जस्तै हजारौँ चिया पसले कोही भरिया भए । कोही तरकारी पसले भए । त कोही रुपाजस्तै ठेलामा फलफूल बेच्न थाले । तर पनि एक छाक पेटभरि खान धौ–धौ पर्छ । समस्यै समस्याको थुप्रोभित्र निसास्सिएका छन्, उनीहरू ।
सुन्दा नमीठो लाग्छ, तर घरमा भएका आधा दर्जन छोराछोरीलाई मीठो खुवाउन नसकेकामा आफैँलाई धिक्कार्ने गरेको उनी सुनाउँछिन् । उनको कुरा सुन्दा लाग्छ, देशमा न उनीहरूको समस्या सुनिदिने कोही छ, न उनीहरूको सामान बिनामोलमोलाई किनिदिने कोही छ ।
पहिले बिहानै उठेर चियाका सरसामान मिलाउने उनी आजकाल हस्याङ–फस्याङ गर्दै फलफूल लिन कुद्न थालेकी छिन् । सापटी गरेर नयाँ व्यापार त थालिन्, तर कमाइ भए पो ? कहिलेकाहीँ त कुहिएरै गइदिन्छ । त्यस्तो बेला हेरेर बस्नुबाहेक अरु केही विकल्प हुुँदैन उनीसँग । कोही ग्राहक आएर सर्लक्कै भाउ घटाएर सामान माग्छन्, त्यसमा उनी मुखै फोरेर भन्छिन्, ‘बरु कुहाएर फाल्छु, तपाईंले भनेको जतिमा त दिन्नँ ।’
उनी ग्राहकलाई विश्वास दिलाउन चाखेरै लानु भनेर ढिपी गर्छिन् । फलफूल वरिपरि पल्टाएर लेग्रो तान्दै भन्छिन् ‘एकदमै राम्रो छ, लैजानुस् न लैजानुस् । यसमा किरा छैन क्या...भारतबाट ल्याएको हो ।’
ग्राहकले पनि उनको कुरा पत्याए जस्तो गरेर एक गेडो लिची चाखिदिन्छन् । मीठो लागे किन्छन् । नमीठो माने मुख बिगार्दै फर्किन्छन् । सधैँ सबै ग्राहकले त्यस्तै व्यवहार देखाउने उनको भोगाइ छ ।
एक बाकस लिचीको २७ सयदेखि ३ हजार रुपैयाँसम्म पर्छ । अझ गाडी भाडा कति हो कति ? राति नै ग्वार्को पुगेर झिसमिसेमै फर्किन्छिन् । त्यतिका दुःख गरेर एक पैसा नाफा खाने बेलामा ग्राहकले सर्लक्कै भाउ घटाइदिँदा मन कुँडिन्छ । अझै रात छिप्पिँदै जाँदा खरिद गरेकै दाममै बेच्नुपर्दा उनी झनै बैचेन हुन्छिन् ।
उनका लागि सुखको खबर भनेको एउटै हो, ‘कोरोनाले अझसम्म भेटेको छैन ।’ तर ऋण भने चार डबल । उनले सुनाइन्, ‘कोरोनाले गर्दा बाँचुन्जेलसम्म ऋणले नछाड्ने भयो ।’
रामेछापदेखि परिवारको भविष्य बनाउन छोराछोरी बोकेर काठमाडौँ पसेकी थिइन् । तीन छोराछोरी अनलाइन कक्षा पढ्न ल्यापटप र मोबाइल किनिदिन ढिपी गर्छन् । उनी निराशा पोख्छिन्, ‘छोरा–छोरीको मोबाइल, अनि त्यो के जाति हो भन्ने किचकिचले कोठामा बस्न नि मन लाग्दैन । किनिदिन मन हामीलाई पनि कहाँ नभएको हो र ?’
ठन्डी मौसममा काम्दै होस् वा चर्को गर्मीमा निधारमा पसिना बगाउँदै उनले चिया बेचिन् । गुजारा टर्यो । अब फलफूल बेच्न झरेकी छिन् । उनी टोलाउँदै दुःख पोख्छिन्, ‘यत्रो १२/१३ वर्ष च्या बेचेर हामी जस्ताले के नै पायौं र ? (ठेलातिर देखाउँदै) यही बेचेर पनि अब हामीले पाउनेवाला केही छैनौँ ।’
उनलाई सरकार चलाउनेहरूलाई मनै हलुँगो हुने गरी गाली गर्न मन छ । तर उनको गाली बालुवाटार र सिंहदरबारसम्म पुगे पो ! उनीजस्ता हजारौँ श्रमिकको मर्का सिंहदरबारमा आसीनहरूले सुने पो !
देश कसले चलाइरहेको छ ? त्यो पनि थाहा छैन उनलाई । बोल्दा–बोल्दै भावुक भएर भन्छिन्, ‘हामी भुइँको सोहोरेर खानेलाई किन चाहियो सरकार ! बरु लकडाउन चाहिँ पूरै खोल्दिए हुने ।’
घर भाडा तिर्न नसकेर रातभर निद्रा लाग्दैन उनलाई । त्यसमाथि छोराछोरीलाई विद्यालय भर्ना गर्ने बेला पनि भयो । सरकारी स्कुलमा पढाएको भए पनि अनेक शीर्षकमा पैसा खर्च हुन्छ । अनलाइन कक्षा भएकाले घरमा नेट र महँगा मोबाइल पनि चाहिएकै छ ।
यिनीहरूका निम्ति सरकार मौन छ । यी भुइँमान्छेको समस्या राज्यका आँखाबाट बिस्तारै बिलाउँदै जाँदै छ, देशमा के–के भयो, कसले कुर्सी तानातान गर्यो मतलब छैन । उनीहरूलाई केवल ऋणले पिरोल्छ ।
रातको आठै बज्न लाग्यो । उमाहरूको अँध्यारो दैनिकीबीच अँध्यारो छाउँदै छ । उमाका ठेलाका आँप र लिची सकिएनन् । छोराछोरीले तारन्तर फोन गर्न थाले–ग्यास सकिएछ रे । अनि दिनभरि कमाएको प्लास्टिकको थैलीभित्र कोचेका कुचुमुचु परेका पैसा सुम्सुम्याउँदै सुनाउँछिन्, ‘यति पैसाले अब ग्यास किन्न पुग्ला त ?’
पत्रकारितामा स्नातक अध्ययनरत बस्नेत इकागजका लागि प्रशिक्षार्थीका रूपमा कार्यरत छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया