समाज

रसियाको रोजगारीले आफन्तलाई दिएको पीडा : फोनको घण्टि बज्‍नसाथ झस्कन्छु

इकागज |
असोज ३०, २०८१ बुधबार १६:२ बजे

सांकेतिक तस्विर

गण्डकी- रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन् । घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उनको सिङ्गो परिवार समस्यामा परेको छ ।

घरकै मुख्य संरक्षक सम्पर्क विहीन भएपछि पुख्र्यौली स्थान छोडेर ज्ञानबहादुरको पाँचजनाका परिवार पोखरा–१६ बाटुलेचौरमा कोठा भाडा लिएर बस्दै आएको छ । जुनसुकै समयमा फोनको घण्टी बझ्दा पनि श्रीमानकै फोन आयो कि भन्ने कुराले इन्दिरालाई बारम्बार झसङ्ग  बनाउँछ ।


आफू उच्चरक्तचाप र मधुमेहको तथा कान्छो छोरा मुटुको रोगी नियमित औषधि सेवन गर्नुपर्दा आर्थिक अभावसँगै श्रीमान् बेपत्ता भएपछिको पीडाले इन्दिराको शरीरसमेत दिनप्रतिदिन कमजोर बन्दै गएको छ । निःशुल्क टिकट र राहदानीमा दुबई जानका लागि गत असोज ३० गते घरबाट बिदा भएर निस्किए ।

काठमाडौँमा पुगेपछि दलालको प्रलोभनमा परेर रसिया पुग्नुभएछ, मङ्सिर १३ गते अन्तिम सम्पर्क भएको थियो त्यसपछि कुनै जानकारी आएको छैन इन्दिराले रासससँग बताइन् ।

“रसिया पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो र दोस्रो क्याम्पमा सारेपछि खानको समेत समस्या परेपछि दिदी राजकुमारी थापाले १३ हजार पठाई दिनुभयो”, उनी भन्छिन् ।

उनको रसियामा पुगेको डेढ महिनासम्म सम्पर्क भएको थियो । त्यसपछि युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन भएको छैन । थापा सुनाउँछिन्, “मुटुको रोगी कान्छो छोरा कक्षा २ मा पढ्छ, अस्पतालले शल्यक्रिया गर्नुपर्ने भनेको थियो आर्थिक अभावको कारण उपचार गर्न सकिएको छैन अहिले नियमित औषधि खुवाउन मुस्किल छ । विद्यालयमा साथीको बाबा मोटरसाइकलमा लिन आउँदा कान्छो छोराले घरमा आएर बारम्बार बाबा मलाई स्कुलमा लिन कहिले आउनुहुन्छ भनेर सोध्छ मसँग उत्तर छैन ।”

 सात वर्षीय छोरोको उपचारसहित परिवारको खुसीका लागि ज्यानको जोखिम मोलेर रसियाका तर्फबाट युक्रेनको युद्धरत क्षेत्रमा ज्ञानबहादुर पुगे । अहिले उनको परिवारमा सम्पर्कविहीन हुँदाको पीडा छँदैछ त्यसमा पनि रसिया जाँदा आठ लाख रुपैयाँ लागिरहेको ऋण छ उनले सुनाइन् ।

सशस्त्र प्रहरीमा छ वर्ष सेवा गरेका ४२ वर्षीय ज्ञानबहादुर परिवारको सुखका लागि साउदीलगायत विभिन्न तीन देशमा पुगेका थिए । तर पनि बर्मा गयो कर्मसँगै भने जस्तै सोचेजस्तो आम्दानी नभएपछि उनी रसिया पुगेका हुन्।

सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गङ्गा र छोरी अमृतासहित पाँचजनाको परिवार रहेको छ । छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ । दसैँको पर्वका अवसरमा खर्च नभएपछि विरौटामा रहेका काकासँग तीन हजार मागेर ल्याएको बताउँदै उनले भने , “बर्दियाबाट आउँदा ल्याएको चामलले अहिलेसम्म जेनतेन जीवन निर्वाह भएको छ ।”

रसियन राजदूतावासबाट डिएनए परीक्षणका लागि बोलाएपछि ज्ञानबहादुरको दिदी राजकुमारी थापा भदौको ३० गते काठमाडौँ गएका थिए । पोखराको रत्नचोकमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आउनुभएको उहाँले गहभरि आँसु बनाउँदै भने, “भाइ आउने आश अभै मरेको छैन ।”

मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेसिने सयौँ नेपाली एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले बेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौँमा आयोजित कार्यक्रममा समेत सहभागी भएको उनको भनाइ छ ।

बिचल्लीमा परेको परिवारलाई आर्थिक सहयोग रसियामा अभिभावक बेपत्ता भएपछि बिचल्लीमा परेको परिवारका लागि पोखरा–१७ आँखा अस्पतालमा सञ्चालित पुनः डिपोले आर्थिक सहयोग गरेको छ ।

 विभिन्न समाचारमा प्रकाशित समाचारका आधारमा डिपोका तर्फबाट रु पाँच हजार पाँच सय सहयोग गरिएको हो । पोखरा–१६ बाटुलेचौरस्थित निवासमा पुगेर डिपोका प्रमुख हिमलाल पुनले इन्दिरा थापामगरलाई उक्त रकम हस्तान्तरण गरेका थिए । निर्माण सामग्री बिक्रीबाट भएको आम्दानीले पीडित परिवारलाई सहयोग गर्ने अवसर प्राप्त गरेकामा आत्मसन्तुष्टि भएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने पुनले प्रतिबद्धता व्यक्त गरे ।- रासस


Author

थप समाचार
x