समाज

उपभोक्ताको गुनासो ‘क्युआर’बाट

इकागज |
असोज ३०, २०८१ बुधबार २०:७ बजे

नुवाकोट - जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको गुनासो क्युआरमार्फत लिन थालेको छ ।

चाडपर्वमा हुनसक्ने उपभोक्ताको अधिकार हनन्का घटनालाई मध्येनजर गर्दै उपभोक्ताले क्युआरमार्फत गुनासो तथा उजुरी गर्न सक्ने सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । ​


उनकाअनुसार अहिले विभिन्न चार विधाका गुनासोलाई प्रशासन कार्यालयले क्युआर स्क्यान गरी देखिने फरक–फरक आवेदन फाराम मार्फत संकलन गर्न थालिएको छ ।

“उपभोक्ताको अधिकार हनन् सम्बन्धी खाद्यान्न, होटल तथा खाजा घर, यातायात र औषधि पसल सम्बन्धी गुनासो नेपाली भाषामा तयार गरेको फाराममार्फत भर्न सकिने सेवा सञ्चालनमा ल्याइएको छ”, प्रजिअ अधिकारीले भने, “उपभोक्ताको अधिकार रक्षाका लागि ‘स्वच्छ प्रतिस्पर्धी बजार : उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने सरकारको लक्ष्य पुरा गर्न यसमार्फत उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।”

कार्यालयको सेवा सम्बन्धी गुनासो, सुझाव संकलन गर्न जिल्ला प्रशासनले यसअघि नै क्युआर सेवा सञ्चालनमा ल्याएको थियो । आधुनिकता र प्रविधिको विकाससँगै उपभोक्ताका अधिकार हननका घटना रोक्न र संलग्न दोषीलाई कारबाही गर्न क्युआर प्रभावकारी हुने अपेक्षा गरिएको छ । 
 


Author

थप समाचार
x