समाज

स्नातक पहिलो वर्षका विद्यार्थी : एउटै कक्षामा झण्डै दुई वर्ष

'न पूरै भौतिक कक्षा लिन पाइयो न अनलाइन, परीक्षा कसरी दिने ?'

पूजा बस्‍नेत |
असार १६, २०७८ बुधबार १३:४ बजे

फाइल तस्‍बिर

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्‍नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी भर्ना भएको दुई वर्ष हुन थाल्‍यो । दुई वर्षदेखि स्‍नातक प्रथम वर्षका साढे दुई लाख विद्यार्थी एउटै कक्षामा छन् । २०७६ सालमा प्रथम वर्षमा भर्ना भएका विद्यार्थी २०७८मा पनि सोही कक्षामा छन् ।  जबकि त्योभन्दा पछिका कक्षा ११/१२ पढ्ने दुई ब्याचका विद्यार्थी माध्यामिक तह उतीर्ण भइसके । दोस्रो, तेस्रो र तेस्रो वर्षका परीक्षा भने नियमित भइरहेका छन् । कोभिड महामारी नियन्त्रण गर्न विभिन्न समयमा जारी बन्दाबन्दीका कारण समयमै परीक्षा हुन नसकेपछि उनीहरू दुई वर्षसम्म एउटै कक्षामा बस्न बाध्य भएका हुन् । विद्यार्थी भने त्रिविको लापरबाहीका कारण आफूहरूले तीन वर्षसम्म एउटै कक्षामा बस्नु परेको आरोप लगाउँछन् । 

दुई वर्षपछि बल्ल परीक्षा, कतिलाई परीक्षा फर्म खुलेकै थाहा छैन 
कोभिड संक्रमण केही घटेपछि त्रिविले अहिले परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । २०७६ सालमा स्नातक पढ्न भर्ना भएका विद्यार्थीले दुई वर्षपछि परीक्षा दिन पाउने भएका छन् । तर, जारी निषेधाज्ञाका कारण उपत्यकाका विभिन्न क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थी अहिले उपत्यका बाहिर छन् । दुई वर्षसम्म एउटै कक्षामा अड्किएका उनीहरूले न नियमित कलेज पढ्न पाए न पूरा अनलाइन कक्षा नै । 


राम्ररी पढ्नै नपाइ दुई वर्ष गुजारेका विद्यार्थीलाई अहिले फेरि परीक्षा कसरी दिने भन्ने चिन्ताले सताउन थालेको छ । एक साताको समय दिएर परीक्षा फर्म भर्न जारी सूचना नै कतिपयले जानकारी नपाएको गुनासो गरेका छन् । सिन्धुपाल्चोक घर भएकी मोनिता थिङले परीक्षा फर्म खुलेको अन्तिम दिन मात्रै थाहा पाइन् ।  ‘मलाई त परीक्षा तोकिएको थाहै थिएन,’ उनले भनिन्, ‘अन्तिम दिनमा थाहा पाएपछि एकजना साथीलाई भर्न लगाएँ ।’

उनले आफूले परीक्षाको तालिका र फर्म खुलेको थाहा पाएपछि कतिपय साथीलाई फोनै गरेर जानकारी गराएको बताइन् । केही दिनअघिको बाढीले उनको घर पनि बगाएको छ । यस्तोमा उनलाई परीक्षा बारे चिन्ता छ । 

चार वर्षे स्‍नातक अब ६ वर्ष !
चाबहिलस्थित पशुपति कलेजमा स्नातक प्रथम वर्षमा अध्ययनरत तृष्णा रिजाललाई पनि अब परीक्षा कसरी दिने भन्ने चिन्ता लागेको छ । गत वर्ष लकडाउन भएपछि गाउँ गएकी उनले बेलाबेलामा भएका अनलाइन कक्षा पनि लिन नपाएको गुनासो गरिन् ।

‘लकडाउनपछि काठमाडौँमा गुजारा गर्न गाह्रो भएपछि म गाउँ फकिएँ,’ धादिङको सिम्ने  पुगेकी उनले भनिन्, ‘गाउँमा इन्टरनेट चल्दैन । अनलाइन कक्षा कसरी लिन्थे ? दुई वर्ष एउटै कक्षमा बसियो । न भौतिक रूपमा कक्षा लिन पाइयो न अनलाइन नै । परीक्षा हुनु त राम्रै हो । तर, पढ्दै नपढेकोले परीक्षा कसरी दिने भन्ने चिन्ता लाग्छ ।’ ब्रिलियन्ट कलेजमा पढ्ने दिपीका तिमल्सिनालाई पनि परीक्षाको तालिकाले चिन्ता थपेको छ । दुई वर्ष एउटै कक्षमा बसे पनि कोर्स पूरा पढ्न नपाएको उनले गुनासो गरिन् ।

ख्वप कलेजमा पढ्ने कविन श्रेष्ठ ४ वर्षको स्नातक ६ वर्षमा पनि नसकिने भन्दै दुख व्यक्त गर्छन् । त्रिवीले विद्यार्थीको भविष्य दाउमा राखेर निदाएको उनले आरोप लगाए । अहिले पनि महामारीको जोखिम कायमै रहेकोले भौतिक रूपमा परीक्षा दिन गाह्रो हुने सुनाए । महामारी बेला अनलाइनबाटै परीक्षा दिने व्‍यवस्‍था मिलाएको भए राम्रो हुने उनको सुझाव छ । 

त्रिवी भन्छ, परीक्षार्थीले चाहेको केन्द्रबाट परीक्षा लिने व्यवस्था मिलाएका छौँ’
त्रिविले असहज परिस्थितिमा विद्यार्थीले चाहेको ठाउँबाट परीक्षा दिनेगरी व्यवस्था मिलाइएको जनाएको छ । त्यसका लागि विद्यार्थीले अनलाइनबाटै केन्द्र छान्नेसक्ने सहायक परीक्षा नियन्त्रक महेश ओझाले बताए । ‘कोभिड र बाढी पहिरोका कारण विद्यार्थीहरू देशभर छरिनु भएको छ,’ उनले भने, ‘जो जहाँ छन्, त्यहीबाट जाँच लिनका लागि त्रिवीले तयारी गरिहेको छ । कर्णाली–जुम्ला जहाँ भए पनि परिक्षार्थीले चाहेको केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएका छौँ ।’ 

त्यस्तै कोभिड संक्रमित भई होम तथा संस्थागत आइसोलेसनमा रहेका विद्यार्थीको हकमा भने त्रिवीले परीक्षा केन्द्रमै छुट्टै कोठाको व्यवस्था गर्ने जानकारी दिए । उनले महामारीका कारण समयभन्दा ७/८ महिना ढिलो भएको उनले स्वीकार गरे । ४ वर्षे स्नातक त ६ वर्षे हुने भयो नि भन्ने प्रश्नमा उनले त्यो त्रिविका कारण नभइ महामारीका कारण निम्तिएको बाध्यता भएको जवाफ दिए । सहायक परीक्षा नियन्त्रक ओझाले त्रिविको परीक्षा अनलाइनबाट लिन सम्‍भव नभएको बताए । विद्यार्थीहरू गाउँगाउँमा रहेको र सबै ठाउँमा इन्टरनेटको सुविधा पनि नभएकोले अनलाइन परीक्षा सम्भव नहुने उनको तर्क छ । 

पत्रकारितामा स्‍नातक अध्ययनरत बस्‍नेत इकागजका लागि प्रशिक्षार्थीका रूपमा कार्यरत छिन् ।


Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार
x