प्यारातालमा पूर्वाधार निर्माण गरिँदै
दोधारा चाँदनी (कञ्चनपुर)- कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको प्याराताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ताल परिसरमा पर्यटकलाई आकर्षण गर्ने संरचना निर्माण भइरहेका छन ।
प्यारातालमा पर्यटकको आकर्षणका लागि यहाँका नागरिकले प्याराताल परिसर श्रङ्गार गर्ने काम गरिरहेका छन । नागरिकहरुले स्वतःस्फूर्त रुपमा ताल परिसरमा विभिन्न प्रकारका कलात्मक आकृति निर्माण गरिरहेको प्याराताल पर्यटन प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए ।
“तालको जैविक पहिचानलाई उजागर गर्न र पर्यटकलाई आकर्षण गर्न ताल परिसरमा संरचना निर्माण भइरहेका छन् ।” उनले भने ,“नागरिकको स्वतःस्फूर्त सहयोगमा ताल परिसरमा सेल्फी प्वाइन्ट, माछाको प्रतिमा, कछुवाको प्रतिमा, दुर्लभ जलचर ओदको प्रतिमा राखिएको छ ।”
उनका अनुसार ताल परिसरमा उक्त प्रतिमा लगायतका संरचना निमार्णका लागि विभिन्न व्यक्तिहरुबाट रु १६ लाख सङ्कलन भएको थियो । अध्यक्ष बस्नेतले भने,“सामाजिक सञ्जालबाट सुरु भएको अभियानले अहिले ताल परिसर सजाउन देश विदेश करिब १६ लाख आर्थिक स्रोत जुटेको छ ।”
त्यसैगरी ताल परिसरमा सजाउन गोही, मयुरको प्रतिमा, वाटर फाउन्टेन र आगन्तुकको मनोरञ्जनका लागि झुला निर्माण गरिएको छ । “अहिले पनि जरायो र कमलको फूल निमार्णको काम भइरहेको छ ।” उनले अगाडि थपे “प्यारातालको पर्यटन प्रवद्र्धनमा सबै तहले लाग्न जरुरी छ ।”
उनका अनुसार प्यारातालमा पछिल्लो समय धनगढी महेन्द्रनगर लगायतका क्षनेत्रबाट आन्तरिक पर्यटक आउने गरेका छन् । मनोरञ्जनका लागि प्याराताल उपयुक्त गन्तव्य भए पनि सरसफाइ र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने प्याराताल अवलोकन गर्न पुगेकाहरु बताउँछन् ।
“पर्यटकीय हिसाबले ताल महत्वपूर्ण छ यहाँ दुर्लभ जलचर, पक्षीसमेत देख्न पाइन्छ ।” प्याराताल अवलोकनका लागि पुगेका टेकबहादुर विश्वकर्माले भने–“ताल परिसरमा सरसफाइ, तालको संरक्षण र पूर्वाधार विकासमा सरकारले लाग्न जरुरी छ ।”
ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोजस्थल बनाइएको छ, भने पुनर्वास नगरपालिकाको सहयोगमा पर्यटकको मनोरञ्जनका लागि झुला निर्माण गरिएका छन् ।
“अहिले प्यारातालमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।” वडा सदस्य मणिनाथ बोगटीले भने–“तालको संरक्षण र प्रवद्र्धनका लागि पालिकाले काम गरिरहेको छ ।” उनले ताल अवलोकनका लागि पछिल्लो समय दैनिक पाँच सय बढी आन्तरिक पर्यटक प्याराताल पुग्ने गरेको बताए । ५० देखि एक सय मिटरसम्मको चौडाइ भएको ६ किलोमिटर लामो यो ताल जैविक विविधताले भरिएको छ । –रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया