समाज

गृहमन्त्रीले गरे डिजिटल चिटको शुभारम्भ

इकागज |
कात्तिक ४, २०८१ आइतबार १७:२० बजे

फाइल फाेटाे

काठमाडौँ - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान कार्यान्वयनमा ल्याएको छ । 

आइतबार ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले ई–चलान अर्थात डिजिटल चिटको शुभारम्भ गरेको हो । ट्राफिक चेकिङको क्रममा नागरिक एपबाटै सवारी चालक अनुमतिपत्र देखाउनसकिने र ट्राफिक उल्लंघन गरेमा चिटको जरिवाना समेत तत्काल एपमार्फत तिर्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


डिजिटल चिटको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले ट्राफिक प्रहरीले ट्राफिक नियमको सचेतनाका लागि विद्यार्थी केन्द्रित अभियान चलाउनुपर्ने बताए । ट्राफिक नियमको पालना गर्दै ठूलो चुनौतीको रुपमा रहेको सवारी दुर्घटनालाई न्यूनिकरण गर्नुपर्ने उनले बताए । गृहमन्त्री लेखकले हालैको बाढीपहिरोका कारण देशभरका सडक अवस्था बिग्रिएको भन्दै निर्माणको काम तीव्र रुपमा भइरहेको जानकारी दिए । विपद्पछिको राहत र पुनःस्थापनाका लागि सरकारले गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै अघि बढ्ने बताए । उनले यातायात व्यवस्था बिभागले छाप्न बाँकी रहेको २२ लाख सवारी चालक अनुमतिपत्र छपाई गरेपछि प्रदेशलाई नै सवारी चालक अनुमतिपत्र छाप्ने दिने गरि तयारी भइरहेको जानकारी दिए । 

अनलाइनमा सवारी चालक अनुमतिपत्र देखाउन मिल्ने भएपनि कार्ड छपाइको काम भने नरोकिने उनको भनाइ छ । उनले यसअघि सवारी चालक अनुमतिपत्रमा राखिएको चिप्स प्रयोगविहीन रहेकाले अव नियमावली परिवर्तन गरेर चिप्स नराखि सवारी चालक अनुमतिपत्र छपाइको व्यवस्था गर्ने उल्लेख गरे । 

त्यस्तै प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरले यातायात क्षेत्र प्रविधिमैत्री हुँदै गएको अवस्थामा ट्राफिक प्रहरीको काम कारवाही पनि क्रमश प्रविधि मैत्री बनाउँदै लगिएको जानकारी दिए । नागरिकलाई सहज सेवा प्रवाहका लागि ट्राफिक प्रहरीलाई आवश्यक उपकरण समेत हस्तान्तरण भइरहेको उनले बताए । 

सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था नै इ–चलान भएको ट्राफिक प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x