‘नेवाः संस्कार व उकिया विधि’ नेपाली र अंग्रेजी भाषामा प्रकाशित
काठमाडौँ- नेवारहरूले आफ्नो जीवनमा गर्नुपर्ने बिबिध संस्कारहरू गर्दा मार्गदर्शन प्रदान गर्नुका साथै एकरुपता ल्याउने हेतुले स्व. बलदेव जुजूद्वारा नेपाल भाषामा लिखित पुस्तक ‘नेवाः संस्कार व उकिया विधि’लाई दया फाउन्डेसनले नेपाली र अंग्रेजी भाषामा उल्था गरेर प्रकाशन गरेको छ ।
त्यसैगरी यस अनुवादित पुस्तकको साथसाथै दया फाउन्डेसनको संस्कृति क्षेत्रमा गरेका विभिन्न गतिविधिहरूको बारेमा प्रकाशित गरिएको स्मारिका पुस्तक ‘कल्चर थ्रू दी आइज अफ युथ’ पुस्तकको विमोचन काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले समारोहबीच गरिन् ।
‘नेवाः संस्कार व उकिया विधि’ पुस्तकको नेपालीमा अनुवाद सञ्जय शर्मा राजोपाध्याय् र अङ्ग्रेजी भाषामा अनुवाद आभास धरनन्द राजोपाध्यायले गरेका थिए । यस पुस्तकलाई देश विदेशमा सजिलै पुर्याउने संस्थाको वेबसाइट www.dayafoundation.org.np मार्फत डाउनलोड पनि गर्न सकिने छ ।
उक्त समारोहमा नेवा संस्कृति अनुसार समय् बजी पनि सजाएर राखिएको थियो र नेपालका लागि नर्वेका राजदूत टोरुन द्रमदलसँगसँगै काठमाडौँ महानगरपालिका वडा नं १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा नं १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा नं २२ का अध्यक्ष चीनी काजी महर्जन, वडा नं २३ का अध्यक्ष मचा राजा महर्जन, त्रिभुवन विश्वविद्यालयका उप कुलपति तथा जापानका लागि नेपाली पूर्व राजदूत केदार भक्त माथेमालगायतको बाक्लो उपस्थिति थियो ।
नेवा संस्कृति एक सम्वृद्ध संस्कृति भएको र आज विमोचित पुस्तकले देश विदेशका नेवारहरूको संस्कारमा एकरुपता ल्याई नेवारहरूलाई एकिकृत गर्न सहयोग पुर्याउने कुरा कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौँ महानगरपालिकाका उप मेयर सुनिता डंगोलले बताइन् ।
विमोचित पुस्तकले नेवारहरूको संस्कारमा मार्गदर्शन प्रदान गर्नुका साथै दया फाउन्डेसन समाजसेवी स्व.दयाराम भक्त माथेमाकै पाइला पच्छ्याई यस्तै लोक उपयोगी सामाजिक कार्यहरू गर्दै जाने कुरा दया फाउन्डेसनका संस्थापक अध्यक्ष तथा संस्कृति क्षेत्रलाई नेतृत्व गरी राखेका निभा माथेमा प्रधानले भने ।
दया फाउण्डेशन समाजसेवी स्व.दयाराम भक्त माथेमाको स्मृतिमा उनको परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाजसेवाको लागी सन् २००९ मा स्थापित संस्था हो जसको तीन मूलभूत उद्देश्यमा शिक्षा, स्वास्थ्य र संस्कृति पर्दछ । कार्यक्रम दया छेँ, ओम बहालमा आयोजना गरिएको थियो ।
सय वर्ष भन्दा पनि पुरानो दया छेँ स्व.दयाराम भक्त माथेमाको पुर्ख्यौली नेवारी शैलीको घर हो जुन वि.स. २०७२ को महाभुकम्पले क्षति भई जीर्णोद्धार गरी पुरानै स्वरूपमा ल्याइएको भवन हो । नेवारहरूको जीवनशैलीलाई झल्काउने उक्त घर सांस्कृतिक कार्यक्रमहरूका लागि निःशुल्क नै उपलब्ध हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया