समाज

सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै

इकागज |
कात्तिक ५, २०८१ सोमबार १७:५ बजे

सप्तरी- हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्षअघि निर्माण सुरु गएको खानेपानी आयोजना निर्माण अधुरै छ । 

स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तत्कालीन हनुमाननगर गाउँ विकास समितिको पहलमा स्थानीय स्वास्थ्य चौकी परिसरमा वि.सं २०५४ मा योजना निर्माण सुरु गरिएको थियो । योजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।


स्थानीय अमन यादवले २७ वर्ष भइसक्दा पनि एउटा आयोजना निर्माण गर्न नसक्नु लाजमर्दो विषय भएको बताए । उनले स्थानीय सरकार र निर्माण कम्पनीले तत्काल योजनाका बाँकी काम सम्पन्न गर्न आग्रह गरे । ‘देशमा थुप्रै परिवर्तन भए तर एउटा योजना निर्माण सुरु भएको २७ वर्षसम्म पनि बन्दैन भने योभन्दा लाजमर्दो कुरा के होला ? यदि आयोजना निर्माण भएमा यस क्षेत्रका दश हजारभन्दा बढी जनता लभान्वित हुने थिए । यसर्थ स्थानीय तह र सरोकारवाला मिलेर तत्काल काम अगाडि बढाउन पहल गर्नुपर्छ’, यादवले भने ।

स्थानीय बेचन खड्गाले नगरपालिकाले यसप्रति चासो नदिएकाले सङ्घीयता कार्यान्वयनपछि पनि काम अगाडि नबढ्नु दुःखद भएको बताए । नेपाली कांगे्रसका मधेस प्रदेश सचिवसमेत रहेका खड्गाले भने, ‘नगरपालिकालाई यहाँ शुद्ध खानेपानीका लागि योजनाको काम अगाडि बढाउन आग्रह गर्दा पनि हालसम्म काम सुरु भएको छैन । यसअघि नेतृत्वमा भएका जनप्रतिनिधि र निर्माण कम्पनीले पनि चासो देखाएनन् । त्यसै कारण नगरवासी २६/२७ वर्षदेखि शुद्ध खानेपानीबाट वञ्चित छौँ’, उनले भने ।

स्थानीय राजेन्द्र मिश्रले योजनाको ७५ प्रतिशत काम भएको भनिए पनि राजनीतिक खिचातानीकै कारण थप काम अगाडि बढ्न नसकेको बताए । ‘पानी ट्याङ्की निर्माण भइसकेको छ तर पाइपलाइन बिछ्याउने काम हुनसकेको छैन । जसकारण नगरवासी आर्सेनिकयुक्त ट्युबेल तथा चापाकलको पानी खान बाध्य छौँ’, उनले भने ।

करिब तीन करोडको लागतमा निर्माण थालिएको योजना पहिलो किस्तामा केही काम भएर १०/१५ वर्षदेखि राजनीतिक खिचातानीका कारण उपभोक्ता समिति नै गठन हुन सकेन । तत्कालीन खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका मोहम्मद सकिल अली हालै मधेस प्रदेशसभा सदस्य हुन् । स्थानीय उनलाई पनि अधुरो काम अगाडि बढाउन पहिलकदमीका लागि आग्रह गरिरहेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले धेरै दबाबका बीच २८ लाखमा काम गर्ने गरी बोलपत्र आह्वान गरी केही काम भए पनि पुनः अवरुद्ध भयो । दोस्रोपटक वि.सं २०७४ मा बोलपत्र अह्वान गरिएकामा शान्ति निर्माण सेवा फर्सेठले ठेक्का पाएर केही काम गरे पनि १३ लाख भुक्तानी नपाएको भन्दै उसले पनि काम अगाडि बढाएको छैन ।

थप कामका लागि म्याद नथपिएका कारण समस्या भएको निर्माण कम्पनीका सञ्चालक नारायण यादवले बताए । ‘पाँच लाखको पाइप, सिमेन्ट तथा एक हजार थान बाँसलगायत समान त्यही अलपत्र अवस्थामा राखिएको छ । हामीले समयमा भुक्तानी पाएनौँ, म्याद पनि थपिन । त्यसैकारण नपाएपछि आफूहरू काम गर्न असमर्थ भएको हो’, उनले भने ।


Author

थप समाचार
x