समाज

व्यक्तिगत लाभ र अहंकारलाई त्यागेर एकता कायम गरौँ : एनआरएनए उपाध्यक्ष डा. शर्मा

इकागज |
कात्तिक ११, २०८१ आइतबार १५:२३ बजे

काठमाण्डौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरूले विश्वका ठूल्ठूला शहरमा रहेर अकल्पनीय प्रगति गरेको बताएका छन् । डा. शर्माले गैरआवासीय नेपाली संघद्वारा आइतबार काठमाडौँमा आयोजित ‘एनआरएन ग्लोबल कन्क्लेभ–२०२४’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै दक्षिण एशियाका अन्य डायस्पोराको तुलनामा नेपाली डायस्पोरा कान्छो भए पनि छोटो अवधिमा नेपाली डायस्पोराले गरेको प्रगति अकल्पनीय रहेको बताए ।

बेलायतको लिभरपुल युनिर्भरसिटीमा प्राध्यापक समेत रहेका डा. शर्माले अष्ट्रेलिया जस्तो विकसित राष्ट्रकै धनी व्यक्ति बन्नेदेखि युरोपमा दर्जनौं तारे होटल खोल्नसम्म नेपालीहरू सफल भएको बताए । अक्सफोर्ड, क्याम्ब्रिज, एमआइटीजस्ता विश्वविख्यात विश्वविद्यालयमा नेपाली प्राध्यापकहरू छ्यापछ्याप्ती भेटिन थालेको उनले चर्चा गर्दै नेपालीहरू बिस्तारै आफू बसेको मुलुकको राजनीतिमा प्रवेश गर्न समेत सफल भएको बताए ।


डा. शर्मा विदेशमा जन्मे हुर्केको दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सम्भावना झन अथाह रहेको बताए । “रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने नाराका साथ सम्पन्न हुन लागेको कार्यक्रममा डा. शर्माले संघको निर्वाचनलाई पैसा, पहुँच र पोलिटिक्सबाट टाढा राख्ने उद्देश्यले केही संस्थागत संरचना परिवर्तन गर्ने प्रयास पनि गरिएको बताए । डा. शर्माले संस्थागत रूपान्तरणको प्रयासलाई दुर्भाग्यवश,सबैले सहज रूपमा स्वीकार्न गर्न नसकेको अवस्था आएको प्रति गुनासो गरे ।

उनले एनआरएनएलाई लाखौं गैरआवासीय नेपालीहरूको साझा संस्था बनाउने कि राजनीतिक दलका नेताहरूको वरिपरि घुमेर व्यक्तिगत लाभ उठाउने सीमित वर्गको संस्था बनाउने भन्ने द्वन्द्वका कारण संस्था भित्र केही उतारचढाव आएको बताए । 'गैरआवासीय नेपाली दिवसको यस शुभअवसरमा आफ्नो व्यक्तिगत लाभ र अहंकारलाई त्यागेर एकताको वातावरण तयार गर्न सबै पक्षसँग हार्दिक आव्हान गर्दछु,' डा. शर्माले भने, 'भूगोलबाहिर रहेका यी सबै गैरआवासीय नेपालीहरूलाई मातृभूमि नेपालसँग प्रभावकारी ढंगले जोड्न भने सकिएको छैन । संघसँग आबद्ध गैरआवासीय नेपालीहरूको संख्या २ प्रतिशत भन्दा कम रहेको छ। यसमा पनि महिला, युवा, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू, र प्राज्ञिक वर्गका व्यक्तिहरूको संलग्नता त शून्यप्रायः छ।'

डा. शर्माले संघमा सबै प्रकारका गैरआवासीय नेपालीहरूको पहुँच होस र उनीहरूलाई मातृभूमि नेपालसँग जोड्न सकियोस भन्ने उद्देश्यले केही वर्षपहिलेदेखि संघमा एउटा रुपान्तरणको अभियान सुरु गरिएको बताए । राजनीतिक दलहरूलाई आफ्ना कार्यकर्ता र व्यक्तिगत लाभका लागेका व्यक्तिहरूको घेरा बाहिर आएर यस संघलाई स्वतन्त्र र स्वायत्त रूपमा काम गर्ने वातावरण बनाइ आग्रह गरे ।

उनले विदेशमा बस्ने नेपालीहरू भौतिक रूपमा मात्रै नेपालबाट टाढा भए पनि भावानात्मक रूपमा मनमस्तिष्क सधैं यही नेपाल हुने बताउँदै हिजो रित्तो हात गएका नेपालीहरूको आज समृद्ध नेपालको सपना पूरा गर्ने हैसियतका साथ फर्कने चाहना रहेको बताए ।


Author

थप समाचार
x