समाज

पाँच करोड ठगी गरी फरार रहेकी बिनुलाई कम्बोडियाबाट नेपाल ल्याइयो

इकागज |
कात्तिक २०, २०८१ मंगलबार ८:५३ बजे

काठमाडौँ- वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार बिनु शाक्यलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

सिन्धुपाल्चोक मान्खाकी उनलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्न सोमबार स्वदेश ल्याएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।  बिनु वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढीबाट पाँच करोड दुई लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार भएकी थिइन्। 


आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका- १० ठेगाना भएका सुजन आचार्यको अन्तर्राष्ट्रियस्तरमा खोजी गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो। 

अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसुरमा कानुनी कारबाही गराउन नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएको थियो। यस क्रममा गत असोज १ गते दुवैजनाकम्बोडियामा पक्राउ परेका थिए। 

सुजनलाई कात्तिक ९ गते नै नेपाल फिर्ता ल्याइएको थियो।  बिनुलाई थप कारबाहीका लागि सोमबार प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ।


Author

थप समाचार
x