समाज

चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही

इकागज |
कात्तिक २४, २०८१ शनिबार ९:४० बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा दसैँ, तिहार र छठ पर्वको समयमा ३९ हजार एक सय १७ चालकमाथि कारबाही गरिएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको घटस्थापनादेखि आज बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही गरिएको हो ।


कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ३९ हजारमध्ये तीन हजार तीन सय ५० मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकमाथि कारबाही गरिएको जानकारी दिए ।

त्यस्तै, लेन अनुशासन नमान्ने दुई हजार एक सय ४४, तीव्रगतिमा सवारी चलाउने तीन हजार नौ सय ५७, हेलमेट नलगाउनेलगायत अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार ६ सय ६६ जनालाई कारबाही गरिएको उनले बताए । प्रवक्ता चतुर्वेदीका अनुसार दसैँ, तिहार र छठ पर्वका अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा चार सय ५० सवारीसाधन दुर्घटना भएका थिए । 

दुर्घटनामा परी ११ जनाको मृत्यु, ३१ जना गम्भीर घाइते तथा ६ सय ३४ जना सामान्य घाइते भएका प्रवक्ता चतुर्वेदीले बताए । यसपालि उपत्यका प्रहरीले काठमाडौँमा पाँच हजारभन्दा बढी प्रहरी परिचालन गरी सुरक्षा निगरानी गरेको थियो । त्यसमा एक हजार ६ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालित थिए । 

कुल १८ स्थानमा यात्रु सहायता कक्षा स्थापना भएको थियो । उपत्यका छिर्ने नाकासहितका क्षेत्रमा सुरक्षा जाँच अभियान र सडकका विभिन्न क्षेत्रमा ट्राफिक नियमपालनविरुद्ध कारबाही अभियान चलाइएको थियो ।


Author

थप समाचार
x