समाज

उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

इकागज |
कात्तिक २८, २०८१ बुधबार २०:४६ बजे

फाइल फाेटाे

धादिङ - गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।

खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरुलाई उद्धार गर्न नसकी हेलिकप्टर फर्किएको हो । पटकपटक ल्याण्ड गर्ने प्रयास गरे पनि खराब मौसम र सञ्चार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । 


ट्रेकिङ टोलीमा रहेका रुविभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दूरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुङ्गाना बिरामी परेका छन् । सँगै ट्रेकिङमा रहेका ११ जना भने रुविभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइपुगेका छन् ।

पर्या–पर्यटन प्रवद्र्धनको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली छ दिनदेखि यात्रामा छन् । सोमबार राति त्यस स्थानमा पुगेका उनीहरु हाई अल्टिच्युटका कारण बिरामी परेका थिए ।

त्यस स्थान नजिक मानवबस्ती नभएको र सञ्चार सम्पर्क नभएपछि आज बिहानदेखि छ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए । 

“फसेको ठाउँ बेसक्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दूरीमा छ । त्यहाँ फोन लाग्दैन । सोमबार राति त्यहाँ पुगेको हो । अहिले पनि त्यही छ । हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौँ”, तिमल्सिनाले भने । ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उनले जानकारी दिए । 


Author

थप समाचार
x