समाज

सिस्नेरी एन्फा एकेडेमी घटनामा ज्यान गुमाएका परिवारले मागे न्याय

इकागज |
मंसिर ४, २०८१ मंगलबार १९:४७ बजे

काठमाडौँ - सिस्नेरी एन्फा एकेडेमी घटनामा ज्यान गुमाएका परिवारले न्याय नपाएको गुनासो गरेका छन् । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले कुनै न्याय नपाएको बताएका हुन् । उनीहरूले आफूहरूको माग राहतको नभई बत्सलादेवी माविको कमजोरी भएकाले कारबाही हुनुपर्ने माग रहेको बताएका छन् ।


घटनाको उच्चस्तरीय छानबिन गरि न्याय पाउनका लागि राजनीतिक दल र सरकारका प्रतिनिधिहरूलाई भेट्दा पनि कुनै सुनुवाइ नभएको पीडित परिवारहरूले जनाएका छन् । एन्फा र विद्यालय व्यवस्थापनलाई विश्वास गरि आफ्ना बच्चाहरूलाई प्रशिक्षणका लागि पठाएको भन्दै उनीहरूले बाढीको सूचना आउँदा पनि सुरक्षित स्थानमा नराखेको समेत बताएका छन् । आफ्नो बच्चाहरूसँग सम्पर्क गर्दा रातभर त्रसित अवस्थामा रहेको सुनाएको र यसको जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरूको भनाइ छ । उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गर्दै लापरवाही गरेकालाई कारबाही गरे न्याय पाउने धारणा राखेका छन् ।

यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी हेटौँडा उपमहानगरपालिका–१२ का १४ वर्षीय अनुपम घलान, मकवानपुरगढीका १४ वर्षीय साइमन योञ्जन, सिस्नेरीका १४ वर्षीय दिवस बानियाँ, सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौँ कलङ्कीका ११ वर्षीय प्रियान्स आचार्य, बारा निजगढका १४ वर्षीय विकल रेग्मीको मृत्यु भएको थियो । 


Author

थप समाचार
x