जलवायु परिवर्तनले गरेका असरबारे छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा
फाइल फाेटाे
काठमाडौँ - जनसङ्ख्या र विकास, त्यसमा परेको प्रभाव र जलवायु परिवर्तनले गरेका असरलगायत विषयमा छलफल गर्न विश्वका ३० देशमा पाँच सय प्रतिनिधिहरू काठमाडौँमा भेला भएका छन् ।
एसियाली जनसङ्ख्या सङ्घ (एपिए) र त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) को संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनमा उनीहरू सहभागी भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकोसमेत सहभागिता थियो ।
सम्मेलनमा जनसङ्ख्या सँगसँगै एसियाको जनसाङ्ख्यिकी अवस्थाका विभिन्न पक्षका बारेमा छलफल हुने सम्मेलन आयोजक समितिका संयोजक त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस)का प्रमुख प्रा योगेन्द्रबहादुर गुरूङले जानकारी दिए । सम्मेलनमा एसियाली मुलुकबाहिरका प्रतिनिधिहरूको सहभागिता रहेको उनले बताए ।
प्रा गुरुङले शनिबारसम्म (चार दिनसम्म) चल्ने सम्मेलनमा विषय विज्ञहरूबाट जनसङ्ख्या, बसाइँसराई, प्रजनन् तथा मृत्युदरलगायका विषयमा विश्वका देशको अवस्थासहितको तथ्याङ्क विश्लेषण हुने हुँदा अनुभव आदानप्रदान र एक देशले अर्काे देशको अवस्थाका बारेमा जानकारी हासिल गर्न सक्ने बताए । उनले जलवायु परिवर्तनका कारण जनसङ्ख्यामा परेको असरका विषयमा सम्मेलनमा छलफल हुने जानकारी दिए । नेपालमा जनसङ्ख्यासम्बन्धी नीति संशोधन गर्ने चरणमा रहेकाले सम्मेलनको निष्कर्ष त्यसका लागि सहयोगी हुने विश्वास लिइएको छ ।
सम्मेलनमा १७ वटा मुख्य विषयमाथि विभिन्न ५३ सत्रमा छलफल हुनेछ । यसकासाथै दुईसय २६ वटा मौखिक एवं एक सय ८४ वटा अन्य प्रस्तुति पनि रहने जनाइएको छ । मुख्य १७ वटा विषयका चार सयभन्दा बढी कार्यपत्रमाथि छलफल हुने जनाइएको छ । सम्मेलनले संयुक्त अवधारणापत्रका रूपमा काठमाडौँ घोषणापत्र जारी गरिने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया