समाज

दुई जिल्लाको कार्यालय चलाउँदै दुई कर्मचारी

इकागज |
असार १९, २०७८ शनिबार १४:५१ बजे

फाइल फोटो

वीरगञ्ज :  दुई कर्मचारीले कति वटासम्म जिल्लाको जिम्मेवारी सम्हाल्न सक्ला ? सम्भवत एउटा तर वीरगञ्जमा स्थापना भएको एउटा सरकारी कार्यालयका दुई जना कर्मचारीले दुई वटा जिल्लाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन् । 

लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् । 
    
खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पु¥याउनका लागि सो कार्यालय स्थापना भएको हो । कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित चार जनाको दरबन्दी भए पनि हाल एक जना खाद्य अनुसन्धान अधिकृत र एक जना कार्यालय सहयोगीबाट मात्र सेवा सञ्चालन भइरहेको कार्यालय प्रमुख बिक्की राउतले जानकारी दिए । कर्मचारीको अभावमा प्रभावकारी रुपमा सेवा प्रवाह हुन सकिएको छैन् । 


प्रमुख एवम् खाद्य अनुसन्धान अधिकृत राउत अनुगमन वा विदामा गएपछि कार्यालय सहयोगी उमेश चौधरीले नै निमित्त भएर कार्यालय सञ्चालन गर्दै आउनुभएको छ । स्रोत साधनको अभावमा कार्यालयले गर्ने अनुगमनको काम समेत प्रभावित भएको छ । कार्यालयमा सवारी साधनको नाउँमा एउटा मोटरसाइकलबाहेक अरु छैन । संयुक्त अनुगमनमा जाँदा चार पाङ्ग्रे सवारी साधन भाडा लिएर अनुगमन गर्नुपर्ने बाध्यता रहेको सो कार्यालयले जनाएको छ । 

बारा पर्सा औद्योगिक करिडोर र ठूलो बजार क्षेत्र भएकाले सवारी साधनको अभावमा काम समेत प्रभावित भएको बताउँदै कार्यालय प्रमुख राउतले भने, “कार्यालयमा एउटा मात्र मोटरसाइकल भएकाले संयुतm अनुगमनमा जादाँ भाडाको गाडी लिनु पर्ने बाध्यता रहेको छ ।” उनले स्रोत साधन र कर्मचारीको अभावमा बजार अनुगमन प्रभावित भइरहेको बताए । 

सवारी साधनका लागि विभागसँग पटकपटक माग गरेपनि हालसम्म कुनै उपलब्धि हुन नसकेकाले समस्या आएको उनको भनाइ छ । सो कार्यालयले बारा पर्साका करिब २ सय खाद्य र दाना उद्योगमा अनुगमन गरी त्यहाँबाट नमूना सङ्कलन गरेर जाँचका लागि जनकपुरस्थित प्रयोगशालामा पठाउने गरेको बताइएको छ । रासस


Author

थप समाचार
x