समाज

खोप नपाउँदा वैदेशिक रोजगारीमा जाने ३५ हजार श्रमिक अलपत्र

'खोपका लागि मन्त्रालयसँग समन्वय गरिरहेका छौँ'

अतिन आचार्य |
असार २०, २०७८ आइतबार १९:४६ बजे

श्रम स्वीकृतिका लागि लाइन बसेका नेपाली श्रमिकहरू

काठमाडौँ : सरकारले आफ्ना नागरिकलाई सहजै खोप उपलब्ध गराउन नसक्दा वैदेशिक रोजगारमा जानेहरू समस्या परेका छन् । पछिल्लो समय रोजगारदाता मुलुकबाट भिसा आएर र श्रम स्वीकृति पाइसक्दा पनि खोप लगाउन नपाएकाहरू खाडी लगायत अन्य मुलुकमा रोजगारीका लागि जान पाएका छैनन् ।

नियमित अन्तरराष्ट्रिय उडान खुला भए पनि भिसा लगाएर बसेका करिब ३५  हजार नेपाली खोप लगाउनबाट वञ्चित भएकाले रोजगारका लागि गन्तव्य मुलुक जान पाएका छैनन् । खोपको उपलब्धता हुन्थ्यो भने दैनिक जसो त्रिभुवन अन्तरराष्‍ट्रिय विमानस्थलमा विदेश जानेहरूको लाइन लाग्‍ने गर्दथ्यो । गत वर्षदेखि कोभिडकै कारण विदेश जाने नेपाली श्रमिकको कमी आएको छ ।


 समयमा रोजगारका लागि विदेश जान नपाउँदा आर्थिक व्यभार बढ्ने भएको छ । अर्कोतर्फ रोजगारदाता मुलुकले माग अनुसार कामदार पठाउन नसक्दा नेपालका लागि कोटा गुम्‍ने आशंका बढ्दै गएको छ । विभिन्‍न जिल्लाबाट खाडी मुलुक जानलाई आएका श्रमिक काठमाडौँका विभिन्‍न म्यानपावर कम्पनीमा भेटिन थालेका छन् । निषेधाज्ञा लुज भएपछि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ ।

खोप प्राथमिकतामा किन श्रमिक परेनन् ?

सरकारले वेदेशिक रोजगारमा जानेहरूलाई खोपका लागि प्राथमिकतामा नराख्दा हजारौ नेपाली कामदार रोजगारका लागि विदेश जान नपाएको नेपाल वैदेशिक रोजगार व्यवसायिक संघका कार्यवाहक अध्यक्ष कमल तामाङ् बताउँछन् । करिब एक वर्ष र छ महिना अघि छुट्टिमा आएकाहरू रोजगारका लागि जान नपाएकाले अबको खोप कार्यक्रम अभियानमा विदेश जाने कामदारलाई पहिलो प्राथमिकतामा राखी खोप उपलब्ध गराएमा रोजगारमा जानेलाई समस्या नहुने तामाङले बताए ।

भिसा र श्रम स्वीकृति तयार भइसकेका श्रमिकलाई उनीहरूको कागजपत्र हेरेर खोप लगाइदिन उनले माग गरे । 'खोप लगउन नपाउँदा ३५ हजार नेपाली श्रमिक स्वदेशमा अलपत्र परेका छन,' तामाङ भन्छन्,' विभिन्‍न मेनपावर कम्पनीहरूमा कामदार आउने गरेको र केही भने आफन्तकामा र होटलमा बस्‍ने गरेको भन्दै आउने गरेका छन् ।'

'कोभिड-१९ को महामारीले धेरै मानिस बेरोजगार भएका र विदेश जान चाहनले खोप नपाएकाले वैदेशिक रोजगारको क्षेत्रमा समस्या आएको छ,' तामाङ भन्छन,' सरकारले खोपको प्राथमकितामा विदेश जाने कामदारलाई नराखे धेरै नेपालीको चुल्हो निभ्छ ।'

वैदेशिक रोजगारमा आश्रित नेपाली कामदारलाई खोपको व्यवस्था गर्न नसकेमा सम्बन्धित मुलुकबाट कामदारको कोटा कटौती हुने सम्भावना बढ्दै जाने उनको भनाइ छ । खोपको व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालय र श्रम मन्त्रालयमा लिखित रुपमा आग्रह गरिसकेको उनले प्रस्ट पारे । कामदारको कोटा कटौती हुन नदिन सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ ।

विदेश जाने श्रमिकलाई खाेप दिन विज्ञकाे जाेड 

भिसा र श्रमस्वीकृति पाइसकेका कामदारलाई पहिलो प्राथमिकतामा राखी खोप लगाइदिनुपर्ने श्रमविज्ञ गणेश गुरुङ बताउँछन् । वैदेशिक रोजगारमा गएकाहरूले पठाएको रेमिटयान्सले मुलुक धानिरहेकाले अबको पहिलो चरणमा श्रमिकलाई खोप लगाइदिनलाई उनले माग राखे ।

खोप लगाएका मुलुकका श्रमिकलाई मात्र माग गरे भने नेपाली कामदारको माग घट्न सक्ने गुरुङको दाबी छ । समयमा निश्चित खोपको कोटा छुट्याएर तत्कालै भिसा र श्रम स्वीकृति तयार भएका श्रमिकका लागि खोप छुटयाउनुपर्ने उनको भनाइ छ ।

नेपाली कामदार माग गर्ने रोजागार दाता मुलुक वा कम्पनीले खोपको व्यवस्था गरिदिनका लागि सरकारले तत्कालै पहल गरिदिनुपर्ने गुरुङको भनाइ छ । विदेशको भूमिमा सुरक्षितसँग पुग्ने र रोजगारको गर्ने वातावरण मिलाउन सरकारको अहम भूमिका हुने उनले बताए ।

नेपाली श्रमिकलाई खोप नलगाइ पनि जान पाउने व्यवस्था मिलाउनलाई सरकारको कूटनीतिमा भर पर्ने गुरुङको भनाइ छ । रोजगारदाता मुलुकलाई नेपाली कामादारको आवश्यकता परेको खण्डमा जसरी पनि लान सक्ने उनले बताए। मुख्य कुरा नेपाली कामदारको विगतमा कस्तो अनुभव भोगेका छन् त्यसमा भर पर्ने उनले बताए ।

खोप उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई पत्राचार

स्वास्थ्य मन्त्रालयसँग वैदेशिक रोजगारमा जानेहरूका लागि खोप उपलब्ध गराइदिन पत्राचार गरिसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दिपक काफ्ले बताउँछन् । उनका अनुसार खरिद गरी आएको खोप वैदेशिक रोजगारमा जानेलाई उपलब्ध गराउनलाई आग्रह गरिएको छ ।

'वैदेशिक रोजगारका क्षेत्रमा काम गर्नेहरू पनि खोप उपलब्ध गराइदिनका लागि विभिन्न समयमा मन्त्रालयम आइरहनु भएको छ,' काफ्ले भन्छन्,' श्रम मन्त्रालयले खोप उपलब्ध गराउँदैन । खोपका लागि श्रम मन्त्रालयले सहजीकरण मात्र गरिदिन्छ ।'

'वैदेशिक रोजगारमा गएका धेरै नेपालीले खोप लगाएका छन,' काफ्लेले भने,' छुट्टीमा आएका पहिलो खोप लगाएर आएका नेपाली कामदारलाई जान समस्या भएको भन्ने सुन्नमा आएका छ । सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासलाई बुझ्‍न आग्रह गरिएको छ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x