समाज

लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि

इकागज |
पुस १, २०८१ सोमबार २१:१२ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका पूर्वनगरप्रमुख प्रेमलाल (पिएल) सिंहको नेवारी परम्पराअनुसार आज अन्त्येष्टि गरिएको छ ।

महानगरपालिका–१५ स्थित लखतीर्थमा स्वर्गीय सिंहको अन्त्येष्टि गरिएको महानगरपालिकाका प्रवक्ता एवं १७ नं. वडाध्यक्ष नवीन मानन्धरले जानकारी दिए । स्व सिंहको पार्थिव शरीरमा उहाँका भाई इन्द्रलाल सिंहले दागबत्ती दिएका थिए । 


अन्त्येष्टिमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत वडाध्यक्ष, कार्यपालिका सदस्य एवं महानगरसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौँ नगरपालिकाका पूर्वनगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा गएराति १ बजे निधन भएको थियो । स्व सिंहले लामो समयदेखि सर्वोच्च नेता गणेशमान सिंह निकट रहेर काम गरेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सङ्लग्न रहँदा उनी पटक–पटक जेल जानुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उनी काठमाडौँ नगरपालिकाको पहिलो नगरप्रमुख निर्वाचित भएका थिए । 

स्व सिंहकै पहलमा विसं २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यसैगरी विसं २०५६ मा उनी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भएका थिए । स्व सिंहले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

स्व सिंहप्रति सम्मान प्रकट गर्दै आजै बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यसैगरी पुस २ गते मङ्गलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने र १३औँ दिनमा काठमाडौँमा शोकसभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 


Author

थप समाचार
x