समाज

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

इकागज |
पुस ३, २०८१ बुधबार १८:२ बजे

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गरेका छन् । साक्षात्कारको क्रममा उन ले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गरेका छन् ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को गत ४ महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गरे  ।


सो क्रममा उनले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, भर्ना छनौट सम्बन्धी हाल सम्मको गतिविधि, प्रशिक्षण, नयाँ नियुक्ति/पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कृतहरूको तथ्याङ्क, भौतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गरे । 

यसैगरी उक्त अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ अपराध नियन्त्रण र अनुसन्धानका आधारभूत पक्षहरू, अपराध दर्ता संख्याको प्रदेशगत तुलनात्मक विवरण, अपराध तथ्याङ्क विश्लेषण, फैसला कार्यान्वयन, बालबालिका खोजतलास सन्बन्धी​ तथ्याङ्क र घरेलु हिंसा सम्बन्धी तथ्याङ्क समेत उन ले विश्लेषण गरे।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण र संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बारे जानकारी दिए ।

यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, प्रहरी कर्मचारी विरूद्ध उजुरी दर्ता तथा फछर्यौटको तथ्याङ्क, नीति तथा योजना कार्यान्वयनको अवस्था, नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाको लक्ष्यगत कार्य प्रगति विवरण, हासिल गरेका मुख्य उपलब्धिहरू बारेमा समेत उनले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिए । 

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै आर्थिक अपराधको कारणले अन्य अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको बताए । प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रूपमा रहेको उल्लेख गर्दै विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको उनले बताए ।

आन्तरिक सुदृढिकरणलाई संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको चर्चा गर्दै प्रहरी कर्मचारीहरू विरूद्ध पर्ने उजुरीलाई कसूरको गम्भीरताको आधारमा विभागीय कारवाहीको दायरामा ल्याउने काम समेत भइरहेको उनले बताए ।

विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x