समाज

स्वास्थ्यमा गम्भीर खेलबाड गर्दै परिवर्तन नेपाल, गंगाहिटीबाट हट्न अटेरी

इकागज |
पुस ४, २०८१ बिहीबार १६:१३ बजे

काठमाडौं - काठमाडौंमा फोहोर व्यवस्थापनको काम गर्दै आइरहेको परिवर्तन सेवा नेपालको लापरवाहीले स्थानीय मारमा परेका छन् । काठमाडौं महानगरपालिका वडा नं ७ स्थित गंगाहिटी क्षेत्रमा फोहोर व्यवस्थापन उचित रूपमा नगर्दा स्थानीयले समस्या झेलिरहेका छन् । पटक पटक फोहोर व्यवस्थापन राम्रोसँग गर्न स्थानीयले गरेको आग्रह अटेरी गरेको परिवर्तन सेवा नेपालले सरकारी निकायलाई समेत टेर्न छाडेको छ । 

काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले  अहिले फोहोर व्यवस्थापन भइरहेको क्षेत्र आफ्नो आयोजना क्षेत्रभित्र पर्ने भन्दै मंसिर १४ गते सूचना जारी गर्दै सो क्षेत्रबाट हट्न सचेत गराएको थियो । तर, परिवर्तन सेवा नेपालले प्राधिकरणको सूचनालाई समेत अटेर गरेको छ । 


उसो त ०८० चैत २० गते काठमाडौं महानगरपालिका वडा नं ७ ले पनि गंगाहिटीबाट अन्यत्र स्थानान्तरण गर्न भनेको थियो । मंसिर १४ गते नै धोबीखोला कोरिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना प्रमुख इञ्जिनियर सुवास बस्नेतले परिवर्तन सेवालाई १५ दिनभित्र फोहोर व्यवस्थापन कार्य रोक्न भन्दै पत्र पठाएको थियो । 

‘गंगाहिटीमा फोहोर व्यवस्थापन गर्दै आएको संस्थाले उचित तरिकाले फोहोर व्यवस्थापन नगरेको र स्थानीयबासीहरुमा स्वास्थ्यजन्य समस्या उत्पन्न भएको साथै स्थानीयहरुको जनगुनासो आएको तथा फोहोर व्यवस्थापन गर्ने गरेको स्थान यस आयोजना क्षेत्रभित्र पर्न गएकाले सो स्थानबाट १५ दिनभित्र उक्त स्थानको फोहोर व्यवस्थापन गर्ने कार्य हटाउनुहुन र आयोजनाको स्वीकृति विना यस प्रकारका कार्यहरू आयोजनाको क्षेत्रभित्र नगर्नु,नगराउनु हुन समेत जानकारी गराइन्छ,’ आयोजनाले मंसिर १४ मा पठाएको पत्रमा उल्लेख छ । तर, परिवर्तन नेपालले सो पत्रलाई अटेरी गरेको छ । 

परिवर्तन नेपालले उचित तरिकाले फोहोर व्यवस्थापन नगरेको र स्थानीयको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै स्थानीयले सो स्थानबाट हटाउनुपर्ने माग गर्दै आएका छन् । तर, परिवर्तन नेपालले पटक पटक हट्ने सहमति गरेको कार्यान्वयन नगरेको भन्दै स्थानीय असन्तुष्ट देखिन्छन् । काठमाडौं उपत्यका प्राधिकरणलाई समेत अटेर गरेपछि स्थानीय आन्दोलनमा उत्रने अवस्थामा पुगेको बताउँछन् । 

\


Author

थप समाचार
x