द्वन्द्वमा ध्वस्त पारिएको प्रहरीचौकी एक करोड ४० लाखमा बन्यो
फाइल फाेटाे
नुवाकोट - मुलुकमा चलेको सशस्त्र द्वन्द्वको समयमा ध्वस्त पारिएको प्रहरी चौकी देउरालीको नयाँ भवनको पुनर्निर्माण गरिएको छ ।
विसं २०५४ मा तत्कालीन समयमा नेकपा (माओवादी)को आगजनीबाट ध्वस्त बनेको प्रहरी चौकी देउरालीको २७ वर्षपछि पुनर्निर्माण गरिएको भवनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बुधवार उद्घाटन गरे ।
प्रहरी चौकीको नयाँ भवन निर्माणसँगै जनताको शान्तिसुरक्षा, अन्याय र पीडित भएकाले पाउने न्यायसहित राज्यको उपस्थिति जनताको घरदैलोसम्म पुर्याउन थप मद्दत पुगेको मुख्यमन्त्री तामाङको भनाइ छ । प्रदेश सरकारले प्रहरी एकाइसहित सरकारी सेवासँग सम्बन्धित संरचनाको निर्माणका गतिविधिलाई अघि बढाउँदै भौतिक संरचनाको विकासमा लगानी गर्ने उनले प्रतिबद्धता जनाए ।
प्रहरी चौकीसहित तत्कालीन समयमा ध्वस्त बनाइएको गाविसको भवन अहिले पालिकाका रुपमा स्थापना भए पनि नेपाल विद्युत् प्राधिकरण र कृषि विकास सेवा केन्द्र भने अझै अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भइरहेको म्यागङका अध्यक्ष आशा तामाङले गुनासो गरे ।
द्वन्द्वका समयमा क्षति पुगेका तथा राज्यको सेवा प्रवाह सहज बनाउन माग आएका र आवश्यकता महसुस भएका स्थानमा प्रहरी एकाइको कार्यालय पुनर्निर्माण तथा नयाँ निर्माणलाई प्राथमिकता दिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरी शर्माले जानकारी दिए ।
उनका अनुसार राज्य पुनःसंरचनापश्चात् बागमती प्रदेश सरकारमार्फत ७५ स्थानमा नयाँ प्रहरी एकाइका लागि भवन निर्माण सुरु गरेकामा हालसम्म ६७ स्थानमा सम्पन्न भइसकेको र बाँकीको निर्माण तीव्र गतिमा भइरहेको छ ।
उक्त भवन निर्माणका लागि स्थानीय सर्वजित तामाङ र रामबहादुर तामाङले आवश्यक जग्गा निःशुल्क उपलब्ध गराएकाले कार्यक्रममा मुख्यमन्त्री तामाङबाट जग्गादाताद्वयलाई दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया