समाज

चुरियामाई सुरुङमार्ग हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण

इकागज |
पुस ८, २०८१ सोमबार १७:२२ बजे

हेटौँडा - दक्षिण एसियाको पहिलो सुरुङमार्ग ‘चुरियामाई सुरुङमार्ग’ हेटौँडा उपमहानगरलाई हस्तान्तरण गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले हेटौँडा उपमहानगरका प्रमुख मिना लामालाई उक्त सुरुङमार्ग स्वामित्व हस्तान्तरण गरे ।

हेटौँडा–१५मा अवस्थित चुरियामाई मन्दिर नजिकै रहेको उक्त सुरुङमार्गको जीर्णोद्धारपछि स्थानीय तहलाई हस्तान्तरण गरिएको मन्त्री अमनकुमार मास्केले जानकारी दिए । सुरुङमार्ग हस्तान्तरण भएसँगै सर्वसाधारणको अवलोकनका लागि खुला गरिने उपमहानगर प्रमुख लामाले जानकारी दिए ।


बागमती प्रदेश सरकारले रु तीन करोड ६५ लाखको लागतमा सुरुङमार्गको जीर्णोद्धार गरेको हो । कूल दुई सय २५ मिटर लम्बाईको सुरुङको चौडाइ दुई दशमलव पाँच मिटर र उचाइ तीन मिटर रहेको छ ।

विसं २०७८ वैशाखमा सुरुङमार्ग मर्मत सुरु भएकामा २०८० को असोजमा सम्पन्न भएको थियो । जीर्णोद्धार भएको लामो समयसम्म पनि स्थानीय तहलाई हस्तान्तरण नहुँदा अवलोकनका लागि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

सुरुङ सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाइसकेको छ । कार्यविधिमा सुरुङ अवलोकनका लागि नेपाली नागरिकलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १२०, पाँच वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई रु २० प्रवेश शुल्क लिने व्यवस्था गरिएको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले जानकारी दिए ।


Author

थप समाचार
x