नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती
ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो ।
नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ ।
बाढीका कारण नख्खु खोला किनारामा थुप्रिएको धुलो उडेर बस्तीमा पुगेको र धुलो र गन्धले असर गरेको ललिलतपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले दुखेसो पोखे ।
‘दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ । जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ,’ उनले भने ।
बाढीले क्षति पुर्याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युत्को समस्या हल गरिसकेको र अन्य समस्याहरूको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीको भनाइ छ ।
‘नख्खु करिडोरमा टिप्परका कारण बस्तीमा असर परेको छ । टिप्पर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन । टिप्परको कारण धुलोको समस्या झन् बढेको हो,’ उनले भने ।
नख्खु र भैँसेपाटी जोड्ने नुख्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ । हरेक दिन नख्खु खोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताउँछन् ।
‘मेरो छोरी त्यही पुलको बाटो भएर स्कुल जान्छिन्,’ छोरीले धुलो र खोलाबाट निस्केको गन्धले आफूलाई दिक्क पारेको उनले बताए ।
त्यसैगरी, बाढीले नख्खु करिडोर क्षेत्रमा क्षति पुर्याएपछि बाढीपीडितहरूले सरकारबाट पाउनुपर्ने राहत अझै नपाएको स्थानीय विश्वास थापाले बताए ।
‘चिसो बढेको छ । बाढीपीडतहरू मुस्किलले बसेका छन् । धुलो र गन्धले बस्तीमा असर गरेको छ । जिम्मेवारी निकायको ध्यान पुग्नुपर्ने हो तर पुगेको छैन । जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम सुरू भएपछि दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया