उपत्यका प्रवेशमा असमान नीति : हवाई मार्गबाट सरसर, स्थलमार्गमा कडाइ
काठमाडौँ : काठमाडौँ उपत्यकामा बैशाख दोस्रो सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाइएकाे छ । जनस्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिइएको छ । उपत्यकाभित्र सवारीसाधन सञ्चालनमा आए पनि बाहिरी जिल्लाबाट आएका सवारीसाधन र मानिसले सहजै प्रवेश पाउँदैनन् । निजी तथा सार्वजनिक सवारीसाधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनुमति पत्र भए मात्रै प्रवेश पाइन्छ ।
१७ गतेबाट मुलुकका विभिन्न भागबाट आन्तरिक उडान सञ्चालनमा आइसकेको छ । हवाइमार्गबाट उपत्यका प्रवेश गर्नेलाई भने सहजै प्रवेशको अनुमति दिएको छ ।उडानबाट प्रवेश गर्नेको संख्या बढेसँगै उपत्यकामा कोभिडको थप जोखिम बढेको स्वास्थ्यविद्हरू बताउँछन् । हवाइमार्गबाट आएका यात्रुहरू क्वारेन्टिनमा बसेका छैनन् ।
विमानस्थलबाट सोझै उनीहरू आ-आफ्ना घरतर्फ जाने गरेका छन् । आन्तरिक उडान खुलेको पाँच दिनमा २४ हजार ७ सय ४४ मानिस उपत्यका भित्रिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दैनिक सात एयर लायन्यसका विमानले उडान भरिरहेका छन् । बुद्ध एयर, नेपाल एयलायन्स, सौर्य एयरलायन्स, श्री एयरलायन्स, समीट एयर, तारा एयर र यतीले उडान भरिरहेका छन् ।
यात्रु विमनस्थलमा प्रवेश गर्नु अघि जनस्वास्थ्यको मापदण्ड पालना गरे-नगरेको हेरेर मात्र प्रवेश दिने गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । 'यात्रुको अनिवार्य ज्वरो परीक्षण गरिन्छ र अनिवार्य मास्क लागु गरिएको छ,' उनले भने ।
विमानस्थलबाट आएपछि यात्रुहरू कहाँ जान्छन त्यस्तो कुरा विमानस्थलले नसोध्ने गरेको क्षेत्रीले बताए । केही यात्रु होम क्वारेन्टिनमा बस्लान् वा केहीले जनस्वास्थ्यको मापदण्ड पालना गरेर पनि बाहिर आफ्नो कामका लागि हिँडडुल गरेको हुन सक्ने उनको तर्क छ । यसरी हेर्दा हवाइमागर्ग हुँदै उपत्यका आउनेहरूले सहजै प्रवेश पाए पनि स्थलमार्ग हुँदै आउनेहरूले भने सहजै प्रवेश पाउँदैनन् । सरकारको असमान नीतिले स्थलमार्गबाट उपत्यका प्रवेशमा सर्वसाधारणले सास्ती भोग्नु परेको छ।
'स्थलमार्गबाट आउनेलाई सहजीकरण गरिएको छ'
लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात खुला गर्न सीसीएमसीलाई सिफारिस गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले बताए । स्थलमार्गबाट प्रवेश गर्नेलाई प्रवेशमा कडाइ नगरेको उनको भनाइ छ ।
'लामो दूरीको सार्वजनिक यातायात खुलेपछि मानिसको चाप बढने भएकाले पनि केही समयलाई रोक्का गरिएको हो,' उनले भने,' उपत्यकामा संक्रमितको संख्या कम हुँदै गएको छ । लामो दूरीका सार्वजनिक यातायात खुलाउने विषयमा छलफल भइरहेको छ ।'
विमानस्थलबाट प्रवेश गरेकालाई होम क्वारेन्टिन बस्ने व्यवस्था मिलाउन उपत्यकाका विभिन्न स्थानीय तहलाई परिपत्र जारी गरिसकेको पराजुलीले बताए । कतिपय मानिसहरू आफ्ना घरमा सुरक्षित तरिकाले बसेमा समस्या नहुने उनले बताए । कोभिड संक्रमितको संख्या घटे पनि यसको जोखिम नघटि सकेको उनले उल्लेख गरे ।
'निषेधाज्ञा खुलाउने समय भएको थिएन'
उपत्यका लगायत देशभर कोभिड-१९ को जोखिम नघटेकाले विमानस्थलबाट प्रवेश गर्ने मानिसहरूका कारण पनि वभिन्न क्षेत्रमा चाप बढ्ने भएकाले संक्रमण झन फैलने मानिसबाट कोभिड बढ्ने आशंका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् । निषेधाज्ञा खुकुलो गरेर मानिसको गतिविधि बढाउने समय नभएको उनले बताए ।
'सबैलाई खोप लगाइ सकेर मानिसको एन्टीबडी कति बनेको छ त्यसको परीक्षण गरी खुकुलो गरिनुपर्थ्यो,' राजभण्डारीले भने,' निषेधाज्ञा खुकुलो भएपछि धेरैले मास्क लगाउन छोडिसकेका छन् ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया