समाज

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने

इकागज |
पुस २३, २०८१ मंगलबार २१:४० बजे

फाइल फाेटाे

पर्सा - जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने अति विपन्न तथा गरिब परिवारलाई एकद्वार प्रणालीमार्फत मानवीय सहायता उपलब्ध गराउने भएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लामा एकद्वार प्रणालीमार्फत मानवीय सहायता वितरण गर्ने निर्णय गरेको छ । प्रजिअ अर्यालले सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त हुने कम्बललगायतका राहत सामग्री वितरण कार्यलाई वस्तुपरक पारदर्शी, व्यवस्थित र आवश्यकता केन्द्रित बनाउन एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने जानकारी दिए।


सर्वपक्षीय बैठकले पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । जसको सदस्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत सदस्य रहनेछन् ।

 त्यसैगरी वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल रेडक्रम सोसाईटीका सदस्य तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष सदस्य रहने गरी क्विक रेस्पोन्स टिम गठन गरेको हो । जिल्लामा विभिन्न निकायसँग हालसम्म दुई हजार ५० थान कम्बल मौज्दात रहेको बताइएको छ । 

नेपाली सेनासँग मौज्दात रहेको छ सय थान कम्बल रहेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले चार सय थान, नेपाल रेडक्रम सोसाइटीले एक सय पाँच थान र नेपाली युवा उद्यमी मञ्चले चार सय थान र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले पाँच सय थान उपलब्ध गराउने बताइएको छ ।  

बैठकले शीतलहरबाट बच्नको लागि राहत सामग्री वितरण गर्न चाहने संघ संस्थालाई जिल्ला विपद् व्यवस्थापन र ‘क्विक रेस्पोन्स टिम’ सँग समन्वय गरेर वितरण गर्न अनुरोध गरेको छ । 

बैठकले संघ संस्था/प्रतिष्ठानबाट कम्बल बाहेकका अन्य राहत सामग्रीमा बालबालिकाले प्रयोग गर्ने जुत्ता, टोपी, मोजा अन्य सामग्री उपलब्ध गराउन पनि अनुरोध गरेको छ । बैठकले स्थानीय तहले वितरण गर्ने राहत सामग्रीसमेत ‘क्विक रेस्पोन्स टिम’ लाई जानकारी गराएर मात्र वितरण गर्न सम्बन्धित पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
 


Author

थप समाचार
x