रात्रीकालीन व्यवसायमा कोभिड-१९ को प्रभाव
गुल्जार ठमेलमा रित्तिएका व्यापारीहरू
'बिक्री हुँदैन, भाडा तिर्ने पैसा उठे मात्र केही वर्ष व्यवसाय सञ्चालन गर्थ्यौँ'
काठमाडौँ : सडकहरू चकमन्न छन् । मानिसको ओहोर-दोहोर पातलो छ । फाट्ट-फुट्ट ट्याक्सी चलेका छन् । आधा सटर खुलेका र कुनै-कुनै पूरा खुलेका देखिन्छन् । जहाँ ग्राहकको पर्खाइमा बसेका छन् व्यापारीहरू । झण्डै डेढ वर्ष अघिदेखि सुरु भएको कोभिड-१९ महमारीले सबै क्षेत्रलाई थिलथिलो पारेको छ । यसले पर्यटकीय क्षेत्र ठमेललाई पनि अछुतो राखेन ।
कोभिड-१९ महामारी अघि सधैँ गुल्जार हुने ठमेल कोभिडको पहिलो लहरसँगै चकमन्न बन्न थाल्यो । बाह्य र आन्तरिक पर्यटकको चाप रहने ठमेलमा हिजोआज व्यापारी निराश मुद्रामा देखिने गरेका छन्। न ग्राहक आउछन न त विदेशी पर्यटक, सबैलाई महामारीले थुनेर राखेकाले पर्यटकीय बजार ठमेल सुस्ताउँदै गएको हो ।
'आम्दानी र ग्राहक शून्य'
बाह्य पर्यटकले चलेको ठमेलको व्यापार तथा अन्य व्यवासाय ग्राहक नहुँदा धराशायी बन्दै गएको छ । जनयुद्ध र कर्फयुमा समेत ठमेल क्षेत्रका व्यवसाय निर्वाध रूपमा चलेका थिए तर महामारीले सबै सुनसान बनेको र धेरै व्यवसायीहरू बिस्थापित भइसकेक त्यहाँका व्यापारीहरूले बताए ।
ठमेल चाक्सीबारीमा दुई दशकदेखि कपडा पसल गरिरहेका कृष्ण घिमिरेले कोभिड महामारी सुरु भएपछि आफ्नो व्यवसायमा नराम्रोसँग क्षति व्यहोरेका छन् । करिब एक वर्षदेखि राम्रोसँग व्यापार नभएको उनले बताए । महामारी अघि उनको पसलबाट विदेशीले मात्र कपडा खरिद गर्ने भएकाले नेपाली ग्राहक पसलमा छिर्दैन थिए ।
निषेधाज्ञा खुकुलो भएपछि एकसातादेखि घिमिरेले पसल खोल्न थालेका छन् । उनको दैनिकी अहिले ग्राहक कुर्ने भन्दा पनि पसलको सफाइ गर्दै बितेको छ ।विश्वभर कोभिडको प्रभाव परेकाले विदेशी पर्यटक नेपालमा घुम्न निस्कन सकेका छैनन् ।
पर्यटकको आवागमन शून्य भएकाले पनि व्यापार हुन नसकेको घिमिरेले बताए । 'व्यापार बन्द भएकाले र आम्दानी नहुँदा कोठा भाडा तिर्न समस्या भएको छ,' उनले भने,' महिनाको एक लाख १० हजार भाडा तिर्नुपर्छ । घरधनीले आधा मात्र भाडा लिने भएकाले केही राहत महसुस भएको छ ।'
घिमिरेले कोभिड महामारी अघि सम्पूर्ण खर्च कटाएर मासिक ४० हजार रुपैयाँ आम्दानी गर्थे । एक वर्षदेखि यता उनले १० हजारको समेत बिक्री गर्न नसकेको बताए ।
'ठूला-ठूला बन्दको घोषणा हुँदा समेत पसल खोल्न पाएका थियौ,' घिमिरेले भने,' राजा विरेन्द्रको हत्या हुँदा लागेको कर्फ्युमा समेत पसल खोलेको, नेपाल बन्द र माओवादी जनयुद्धको बन्दलेसमेत प्रभाव नपारेको स्थान हो ठमेल । तर, कोभिडले गर्दा अलि-अलि कमाएक पनि भाडा तिर्दै सकिएको छ ।'
पसलमा करिब २० लाखको सामग्री रहेको घिमिरेले बताए । तत्कालै बिक्री गर्दा बिक्री हुदैन अहिलेको समयमा भाडा तिर्ने पैसा उठे पनि केही वर्ष व्यवसाय सञ्चालन गर्न सजिलो हुने उनको भनाइ छ । उनले चिनेजानेका धेरै व्यवासायीहरू पलायन भइसकेका छन् ।
'महामारीले गर्दा लगानीको एक भाग पनि उठाउन सकिएन'
तीन वर्षदेखि सञ्चालनमा आएको सिलौटा रेष्टुरेण्टक सञ्चालक भोजराज पूरीको पीडा पनि कृष्ण घिमिरेको जस्तै छ । उनीसँग १५ वर्षदेखि ठमेल क्षेत्रमा होटल सञ्चालन गरेको अनुभव छ । महामारीले गर्दा होटलमा काम गरेको अनुभवले मात्र केही नहुने रहेछ भनेर प्रमाणित गरेको उनी बताउँछन् ।
'७० लाख लगानी गरेर होटल खोलेको छु, ग्राहक कोही आउँदैनन,' पूरी भन्छन,' बन्द गरेर पनि कतै जान सकिदैन । काम गर्ने स्टाफलाई पनि अहिले बिदामा राखेको छु ।' होटलको मासिक भाडा एक लाख छ तर महामारीले आधा मात्र भाडा तिर्नु परेको उनले बताए । सुरुमा आम्दानी गरेकाले केही सयम भाडा तिर्न तर अहिले भने भाडा तिर्न पनि उनलाई सकस छ ।
पूरीले महामारी नआएको भए पर्यटन वर्ष (२०२०) राम्रो कमाइ हुने आशा राखेका थिए । महामारीले गर्दा होटलमा गरेको लगानीको चार भागको एक भाग पनि उठाउन नसकेको उनी बताउँछन् ।
'जनस्वास्थ्यको मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्छौ'
ठमेलको सबैभन्दा रोचक पक्ष रात्रीकालीन जीवन पनि हो । अहिले सबैभन्दा बढी असर रात्रीकालीन व्यवसायीलाई परेको छ । पहिलो लहरको कोभिड अन्त्यतिर आइपुग्दा केही समय सञ्चालन गरे पनि दोस्रो लहरको कोभिड आएपछि पुनः व्यवसाय बन्द गर्दा संकटमा गएको रात्रीकालीन व्यवसायी सञ्चालकहरूले बताउँछन थालेका छन् ।
महामारीमा जनस्वास्थ्यको मापदण्ड पालना गरेर भए पनि रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने एलओडीका निर्देशक रविन श्रेष्ठ बताउँछन् । ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरेकाले लामो समयसम्म बन्द रहदा व्यवसायीलाई भार पर्ने उनको भनाइ छ ।
'पहिलो लहरको कोभिडमा करिब ९ महिना व्यवसाय बन्द गर्नुपरेको थियो,' उनी भन्छन,' बिस्तारै व्यवसायले लय समात्दै गरेको थियो । पुनः बन्द भएको सरकारले कहिले खोल्ने दिने अनुमतिको पर्खाइमा हामी छौ ।'
दिउँसो अन्य व्यवसाय सञ्चालालनमा आउदा कोभिड नआउने तर रात्रीकालीन व्यवसायमा मात्र कोभिड आउने जस्तो सरकारको धारणा रहेको प्रति श्रेष्ठले आपत्ति जनाएका छन् । सबैलाई जनस्वास्थ्यको मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिन उनले माग राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया