समाज

भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारीमा जोड

इकागज |
पुस २८, २०८१ आइतबार १९:४४ बजे

सांकेतिक फोटो

काठमाडौं - भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारीमा जुट्नुपर्नेमा जोड दिइएको छ । भूकम्प सुरक्षा दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित मूल समारोह समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जोड दिइएको हो ।

विसं १९९० गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ । भूकम्पबाट हुने जनधनको क्षति कम गर्न प्रचार प्रसार र पूर्वतयारीको कार्यक्रमले प्राथमिकता पाउनुपर्ने सरोकार भएकाहरूले बताएका छन् । 


सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले विपद्का बेला कमजोर घर वा संरचना भत्केर धेरैजसो जनधनको क्षति हुने गरेकाले यसमा विशेष ध्यानदिनुपर्ने बताए । “भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण र नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवनसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ । यो नै हाम्रो सशक्त पूर्वतयारी हो”, उनले भने, “साथै भूकम्पको सम्भावित जोखिमलाई आकलन गरी प्रभावकारी र दू्र्त खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवं तत्काल राहत वितरणका लागि तयारी अवस्थामा रहनु उत्तिकै जरूरी छ ।” 

महानिर्देशक महर्जनले भूकम्पीय जोखिम न्यूनीकरण गर्न पूर्वतयारीदेखि भूकम्पको बेला प्रभावकारी खोज,  उद्धार र भूकम्पपश्चात् पुनःस्थापना कार्य विभिन्न निकायबाट निरन्तर भइरहेको बताए । “सुरक्षित भवन निर्माणको अवस्था विकास र विस्तार गर्ने कार्यक्षेत्र सहरी विकास तथा भवन निर्माण विभागको हो । भवनसंहिताको कार्यान्वयनका लागि नीतिगत व्यवस्था, नीतिगत जनचेतना तथा अभिमुखीकरण, क्षमता अभिवृद्धि, प्राविधिक कार्य, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्यांकन, समन्वय तथा सहकार्य जस्ता क्षेत्रमा आवश्यक कार्यहरू गर्न अन्य निकायहरूसमेत क्रियाशील छन्”,उनले भने, “विगतका भूकम्पबाट पाठ सिकी भवनको नक्सा डिजाइन गर्न आवश्यक पर्ने भार र डिजाइन गर्ने विधिसहितको भवन निर्माणसंहिता अद्यावधिक गरी लागू भएको छ । त्यसको पालना गर्नु सबैको दायित्व हो ।”

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा रमेश गुरागाईंले नयाँ बन्ने संरचनाहरू भूकम्प प्रतिरोधी बनाउन आवश्यक रहेकामा जोड दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विपद् संवेदनशील संस्कृतिको विकास गर्न जरूरी रहेकामा जोड दिए । 

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ । दिवसका अवसरमा कीर्तिपुर नगरपालिकास्थित बिपी कोइराला मेमोरियल विज्ञान सङ्ग्रहालय परिसरमा मूल समारोहको कार्यक्रम आयोजना हुने त्यस अवसरमा जानकारी दिइयो । 

विभागका अनुसार दिवसका उपलक्ष्यमा मूल समारोह समितिले आयोजना गर्ने कार्यक्रमबाहेक विभिन्न निकायको सक्रियतामा प्रदेश तथा स्थानीय तहलगायत विभिन्न निकायले गोष्ठी, छलफल,  र्‍याली, अन्तरक्रिया प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटकलगायत विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् । 
 


Author

थप समाचार
x