‘सम्पादक समाज सम्मान’ युवराज घिमिरेलाई
काठमाडौं - सम्पादक समाज नेपालले यस वर्षको ‘सम्पादक समाज नेपाल सम्मान’ वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरेको छ ।
समाजद्वारा आज नुवाकोटको शिवपुरी–७ सूर्यचौर आयोजित समारोहमा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८१’ पर्वतको महिलाद्वारा सञ्चालित सामुदायिक रेडियो दिदी बहिनी ९५.२ मेगाहर्जलाई प्रदान गरिएको हो ।
‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कार जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहनुभएका राजधानी दैनिकका बझाङ संवाददाता डिवी विष्ट र ‘योसमय’ अनलाइन न्यूज पोटरका सम्पादक ध्रुव रावललाई प्रदान गरिएको आयोजकले जनाएको छ । ती पुरस्कारको राशि क्रमशः रु २५ हजार र रु १५/१५ हजारसहित प्रमाणपत्र रहेको छ ।
समाजलाई लामो समय अभिभावकत्व प्रदान गरेकामा संस्थापक अध्यक्ष वियोगीकी धर्मपत्नी ९० वर्षीया कृष्णवदन वैद्यलाई अभिनन्दन गरिएको थियो ।
समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्यामकाजी डोटेल, संरक्षक किरण वैद्य, कोषाध्यक्ष माधव दुलाल र सदस्य नारायण उपाध्यायले आफ्नो संस्थाले गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र र पुस्तकालय स्थापना गरेकाले पत्रकारिता क्षेत्रमा अध्ययन र अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अमृतकुमार बोहरा, संविधानसभा सदस्य खिमलाल देवकोटा, नेपाली कांग्रेसका नेता नरोत्तम वैद्य र शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियालगायत व्यक्तिले मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या समाधान गर्न, समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पत्रकार सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।
नेपालको वामप्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका, मातृभूमि साप्ताहिकका सम्पादक तथा समाजका संस्थापक वियोगीको विसं २०६२ माघ २ गते निधन भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया