एक ॐकार सतनाम : गुरु नानक जन्मजयन्ती विशेष
शिख धर्मका प्रवर्तक गुरु नानकको ५५१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहेव’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत पनि गराए । भारतीय सन्त कविरपश्चात निर्गुणधाराका सन्तको रूपमा गुरु नानकको नाम आउँछ । गुरु नानकले आफ्नो जागृति तपशक्ति र सेवाभावले विशाल जनमानसलाई अत्याधिक प्रभावित तुल्याए ।
उनका वाणीहरूको प्रभाव आज पनि उत्तिकै छ । यिनी शिखहरूका दसमध्ये प्रथम गुरु हुन् । अनुयायीहरू यिनलाई गुरु नानक देवजी, बाबा नानक वा नानक शाहजस्ता विभिन्न नामहरूले सम्बोधन गर्ने गर्दछन् । लद्दाख वा तिब्बतमा यिनलाई लामा नानक नामले पनि जानिन्छ । आफ्नो व्यक्तित्वमा गुरु नानक दार्शनिक, योगी, गृहस्थ, धर्म सुधारक, समाज सुधारक, कवि, देशभक्त र विश्वबन्धुसमेत थिए ।
जन्म र आचरण
गुरु नानकको जन्म पञ्जाबको ‘तलवन्डी राय भोयं की’ नामक गाउँमा एक बेदी खत्री कुलमा भयो । यस गाउँलाई आजकल ननकाना साहेब भनिन्छ र यो अहिले पाकिस्तानमा पर्दछ । तारिखमा केही विवाद भए तापनि सन् १४६९, १५ अप्रिललाई उनको जन्ममिति मानिन्छ ।
उनका पिताको नाम कालु मेहता तथा माताको नाम तृप्ता थियो । गुरु नानकको थोरै समय मात्रै विद्यालयमा बित्यो । कारण, अन्य महापुरुषहरू जस्तै उनको पनि रुचि विद्यालयको पढाइमा खासै थिएन । सानैदेखि उनीमा आध्यात्मिक चिन्तन जागृत भएको थियो । अन्ततः उनले विद्यालय जानै छाडिदिए । अनि आत्मा तथा परमात्मासम्बन्धी कुराहरूको चिन्तनमा मग्न हुन थाले । सानैदेखि उनमा प्रखर प्रज्ञाका लक्षणहरू देखा परेका थिए ।
जवानी सुरु हुनुपूर्व नै उनी सांसारिक विषयहरू उपर उदासीन रहन्थे । उनका आध्यात्मिक र भागवत प्राप्ति विषयक अनेक जटिल प्रश्नहरू सुनेर शिक्षक र पण्डितहरूले हार मानेका थिए । घरमा गुरु नानक एक्ला छोरा थिए । अब एक्लो छोरो नै बाल्यकालदेखि जगतउपर उदास रहन थालेकाले मातापितामा एक किसिमको निराशा छाउनु स्वाभाविकै थियो । मातापिताको चाहना थियो कि आफ्नो बच्चाले पढेलेखेर कुनै कामधन्दा गरोस् । तर नानकको प्रवृत्ति सानैदेखि अन्तर्मुखी थियो ।
केही विद्वानको मत छ कि, नानक साहेब पढालेखा थिएनन् । तर उनले काम चलाऊ विद्या त हासिल गरेकै थिए । परमार्थ पथ-पथिकका सन्तका लागि अनुभवको महत्व हुने गर्दछ, विद्यालय वा विश्वविद्यालयको पण्डित्याइँ होइन । र, त्यस्तो अनुभवको विद्या भने उनमा प्रशस्तै थियो ।
आफ्नो सन्तानले विद्यालयमा पढ्ने इच्छा नदेखाएको हुँदा पिता कालुले नानकलाई गाईबस्तु चराउने काममा लगाए । तर उक्त काममा पनि नानक लापर्बाही गरिदिन्थे । कुनै साधुसन्त भेटिएका खण्डमा उनी बस्तुभाउ भुलेर दिनभर शास्त्रार्थ गरेर बसिदिन्थे । त्यतिबेलासम्म नानक किशोर भइसकेका थिए । पिताजीले अब ठाने कि नानकलाई घरमा राख्नु बेकार छ । त्यसैले कतै टाढा पठाएर आफ्नो फरक स्वभावको छोरालाई कुनै काममा लगाउनु नै उचित हुने निष्कर्ष उनले निकाले ।
नोकरी
गुरु नानककी नानकी भन्ने एक दिदी थिइन् । भनिन्छ, उनैको नामको आधारमा उनको भाइको नाम नानक हुन पुग्यो । नानकका भिनाजुको नाम जयराम थियो । उनीहरू आजको कपुरथला जिल्लाको सुल्तानपुर नामक स्थानका नवावका दरबारमा जागिरे थिए । गुरु नानकलाई उनका पिताले भिनाजुकहाँ जागिर खान पठाइदिए । नवावको मोदीखानामा भिनाजुले उनलाई जागिर लगाइदिए । नानकको काम सर्वसाधारणलाई रासन बेच्ने थियो । त्यस बेला उनको उमेर १५ वर्षको थियो ।
तेह्रलाई उनले ‘तेरा’ बुझे । उनले सोचे, यहाँ सब ‘तेरा’ । मेरा तो यहाँ कुछ भी नहीँ । सब ‘तेरा’, याने ईश्वरका । नानकको गिन्ती तेह्रमा नै रोकियो । उनले ठाने तेह्र नै अन्तिम गिन्ती हो ।
गुरु नानक आफ्नो काम तत्परतासाथ गर्ने गर्दथे । परन्तु उनको संसारसँग उदासीको स्वरूप बढ्दै गइरहेको थियो । उनी हरेक दिन टाढा एक नदीमा स्नान गर्न जान्थे । त्यहाँ उनी घण्टौं ध्यान, चिन्तन र जप गर्ने गर्थे । विभिन्न सन्तका वाणीहरू सुन्दथे । यस्ता कार्यहरूमा उनलाई बडा रस पैदा हुन्थ्यो । यसै कालमा उनलाई समाधि लाभ पनि हुन थाल्यो । अनि उनी भन्न थाले, न कुनै हिन्दू छ, न कोही मुसलमान ।
रासन दोकानमा एक दिन एउटा गजबको घटना भयो । तराजुमा अनाज जोख्दा उनले तेह्रभन्दा अगाडि गन्ती बढाउन सकेनन् । गुरु नानक एकोहोरिए । तेह्रलाई उनले ‘तेरा’ बुझे । उनले सोचे, यहाँ सब ‘तेरा’ । मेरा तो यहाँ कुछ भी नहीँ । सब ‘तेरा’, याने ईश्वरका । नानकको गिन्ती तेह्रमा नै रोकियो । उनले ठाने तेह्र नै अन्तिम गिन्ती हो ।
मान्छेहरूले उनलाई पागल भने । तर उनी रोकिएनन् । उनलाई लागिरह्यो कि यहाँ केवल दुई पडावहरू छन्, ‘मेरा’ या ‘तेरा’ । ‘मेरा’ सुरुआत हो भने ‘तेरा’ समाप्ति । उनको विचारमा यहाँ सबकुछ ‘मेरा’बाट सुरु भएर ‘तेरा’मा सकिन्छ । भनिन्छ, त्यो दिनदेखि गुरु नानकले उक्त काम छाडिदिए र भन्न थाले, मेरा कुछ भी नहीं, अब सब तेरा ! गुरु नानकका बारेमा ओशो भन्छन्, ‘नानक संसारको विरोधमा छैनन् । उनी त संसारको प्रेममा छन् । किनभने, उनी भन्छन् कि संसार र यसलाई बनाउनेवाला दुईवटा नभएर एउटै छन् । एक ओंकार सतनाम !’
विवाह
सत्संग तथा साधनामा उनको रुचि निरन्तर बढिरहेको थियो । कमाएको पैसासमेत उनी धेरैजसो परमार्थ कार्यमा खर्च गर्न रुचाउँथे । छोरो फुर्मासी भयो भनेर मातापिता तथा दिदीले एउटी केटी खोजेर उनको विवाह गरिदिए । बिहेको लागि उनी सहजै राजी भएको देखेर सबै छक्क परे । किनभने, उनको आध्यात्मिक व्यवहार देख्ने कसैले पनि उनले बिहेको लागि यति सजिलै ‘हुन्छ’ भन्लान् भन्ने ठानेका थिएनन् । तथापि विवाहले पनि किशोर नानकलाई परमार्थिक कार्यमा र सत्संगमा कुनै बाधा हाल्न सकेन । बरु उनका साधुसेवा, भजनसत्संग, जोगीहरूको सान्निध्यमा लिन रहने तथा साधनामा तत्पर रहने कार्यहरू बढ्दै गए । विवाहलाई पनि उनले आफ्नो महान् आध्यात्मिक लक्ष्यमा अघि बढ्ने प्रेरणास्रोतकै रूपमै लिएका थिए ।
यसैबीच कथित नीच भनिने एक जातिको परिवारबाट मरदानानामक युवक नानकसँग यति प्रभावित भए कि उनी नानकसँगै बस्न थाले । मरदाना मुस्लिम थिए । मरदाना रबाब भन्ने एक किसिमको सारंगी बजाउने गर्दथे । अनि गुरु नानक भने मस्तले भजन गाउने गर्दथे । समयको बहावसँगै गुरु नानकका श्रीचन्द र लक्ष्मीचन्द नामक दुई छोरा भए । श्रीचन्दले आजीवन ब्रह्मचारी रहेर विरक्तिमार्ग समाते र उदासीन सम्प्रदाय चलाए । यस सम्प्रदायको भारतमा यत्रतत्र प्रचार छ । यस सम्प्रदायलाई नानकपन्थी पनि भनिन्छ । अर्का छोरा लक्ष्मीचन्दले भने गृहस्थी मार्ग अपनाए ।
अधिक उदासीनता
गुरु नानक संसारसँग अत्यधिक उदास रहन थालेका थिए । सोही कारण पनि उनले मोदीखानाको जागिर छाडेका थिए । उनी एक्ले घनघोर जंगलमा गएर घण्टौँ ध्यानमग्न हुने गर्दथे । नदीमा गएर लामो समय बिताउने गर्दथे । साधुसन्तहरूसँग धर्म तथा अध्यात्म चर्चा गर्दथे र अधिकतर समय साधनामा लीन रहने गर्दथे ।
नानकको यो स्वाभावले परिवार तथा नातेदारहरू चिन्तित नै थिए । उनीहरूले नानकलाई सम्झाइबुझाइ गरेर घरगृहस्थी नै सम्हालेर बस्ने राय दिए । तर किन मान्थे नानक ? यस बेलासम्म सन्तहरूसँगको सत्संग, उनको आफ्नै आत्मचिन्तन एवम् साधनाभ्यासका बलले उनका विचार र व्यवहारहरू प्रौढ भइसकेका थिए ।
अथाह यात्रा
गुरु नानक घर-गृहस्थीको सारा भार छाडेर ठाउँठाउँमा घुम्न थाले । उनी प्रायःजसो सर्वसाधारणतथा दीनदुःखीहरू समक्ष पुगेर उनीहरूलाई भाइचारा, ईश्वर एवम् गुरुभक्ति विषयक उपदेश दिने गर्दथे । उनी भन्थे कि यहाँ कोही सानो या ठूलो छैन । सबै बराबर हुन् । तसर्थ सबैसँग प्रेम र मैत्री गर्न सिक । उनले नीच जाति भनिएकाहरूसँग आफ्नो अधिक समरसता व्यक्त गरे । उनले भने, नीच जातिहरूमध्ये पनि जो अझ नीच छ, नानक सदा उनीहरूको साथमा छ ।
गुरु नानकले आफ्नो प्रथम यात्रा अमृतसरको गरे । उनी त्यहाँ पुगेर एउटा स्यानो जलाशय समीप बसे । त्यहाँ उनले केही भजन पनि गाए । भनिन्छ, उक्त स्थानमा नै आजका अमृत सरोवर, हर मन्दिर तथा ऐतिहासिक स्वर्ण मन्दिरहरू अवस्थित छन् । गुरु नानकमाथि कलम चलाउनेहरूले उनको हुलिया निम्नानुसार वर्णन गरेका छन्, शिरमा तिखो टर्किस टोपी, गेरु रङको लामो चोंगा, सादा धोती । खासमा यस्तो भेषभूषा प्रायः उदासी साधुहरूमा लोकप्रिय छ ।
एक दिन आफ्नो यात्राका क्रममा गुरु नानक सइदपुर गाउँमा पुगे । अनि निम्न भनिने एउटा जातिका घरमा पुगेर आसन जमाए । गाउँका कथित ठालुहरूलाई यो असह्य भयो । गाउँका मुख्य ठालु थिए, भागो मल्लिक । उनले नानकलाई निमन्त्रणा पठाए । तर नानकले उनको निमन्त्रणा अस्वीकार गरे र सोही घरमा आफ्नो भोजनपानी गरे ।
सइदपुरबाट नानक पुनः जन्मस्थान तलवन्डी फर्किए । तर आफ्नो घर नगएर उनी गाउँभन्दा बाहिरको एउटा बगैँचामा बसे । त्यहीँ एक वृक्षमुनि आफ्नो डेराडन्डा बिसाएर उनी भजन-कीर्तनमा तल्लीन हुन पुगे । घरगाउँलेले यो कुरा थाहा पाएर उनलाई लिन गए ।
नानक सहर्ष उनीहरूसँग आफ्नो जन्मस्थान फर्किए । अनि सारा गाउँलेहरू जम्मा हुन थाले । आफ्नै गाउँको बालक नानक त्यस दिन एक प्रौढ गुरुका रूपमा प्रकट भएकामा उनीहरू अति हर्षित र प्रभावित थिए । यद्यपि गुरु नानक घर-संसारको मायामोहदेखि विरक्त नै थिए । उनी पूर्णतः अनाशक्तभावमा रहन्थे । उनले आफ्नो मनका अनेक मान्यताकृत बन्धनहरूलाई तोडिसकेका थिए ।
केही दिनपछि, उनी आफ्ना सहयात्री मरदानालाई लिएर पुनः एउटा यात्रामा निस्किए । उनीहरू (आजकल पाकिस्तानको सुल्तानपुर जिल्लामा पर्ने) तलंबे भन्ने स्थानमा पुगे । तलम्बेमा एक कुख्यात ठग थियो । हिन्दूहरूलाई ऊ आफ्नो नाम सज्जनमल बताउँथ्यो भने मुसलमानहरूलाई शेख सज्जन । उसले सडकको आमनेसामने मन्दिर र मस्जिद पनि बनाइसकेको थियो । त्यहाँ उसले यात्रुहरूलाई आवासको व्यवस्थासमेत गरेको थियो । यात्रुहरूलाई सम्मानपूर्वक दुवैतर्फ बसाएर रातिराति लुट्ने गर्थ्यो ।
गुरु नानक र मरदानालाई पनि उसले व्यापारी ठान्यो र मन्दिरतर्फको आवास गृहमा बस्ने व्यवस्था मिलाइदियो । केही दिनमा नै गुरु नानकले त्यस् ठगको रहस्य थाहा पाएर उसलाई अर्ती-उपदेश गरे । नानकको जागृत आवाजले ठग सम्मोहनमा पर्यो । हेर्दाहेर्दै उसले सारा गलत मार्गहरू त्याग्यो र भक्तिमा प्रगाढ हुँदै गयो ।
गुरु नानकले मरदानाका साथमा दिल्ली, वाराणसी, पटना आदि स्थानको यात्रा गरे । भनिन्छ कि बनारसमा उनले सन्त कविरलाई भेटेका थिए । केही विद्वानको अनुमान छ कि उक्त भेटको कैयन वर्षपूर्व पञ्जाबको कुनै जंगलमा एक वृद्ध सन्तसँग गुरु नानकको भेट भएको थियो । ती वृद्ध सन्त कविर थिए । त्यहीँबाट नानकले प्रेरणा पनि पाएका थिए ।
कविरको जीवनकाल वि.सं. १४५६-१५७५ हो भने नानकको चाहिँ वि.सं. १५२६-१५९६ । अर्थात्, कविरको देहान्त हुँदा नानकको उमेर ४९ वर्षको थियो । अत एव दुवैको भेट भएको हुन सक्नेमा भारतीय विद्वानहरूको ठहर छ । परिणामस्वरूप, कविरका वाणीहरूको गहिरो प्रभाव नानकका वाणीहरूमा परेको पाइन्छ । भनिन्छ कि गुरु नानकले भारतका अन्य विभिन्न क्षेत्रमा अत्यधिक यात्रा गरेका थिए । उनी मक्का पनि गएका थिए । नेपाल पनि आएका थिए । काठमाडौंको म्हैपीमा उनले तप गरेको स्थल अझै सुरक्षित छ ।
मक्का पुगेका बेला गुरु नानकसँग सम्बन्धित एउटा रोचक किस्सा छ । उनी अन्य हाजीहरूसँग मक्का नगरछेउ पुगे । रात्रिको समय थियो । उनीहरूले त्यहीँ बास बस्ने निधो गरे । सुतेका बेला गुरु नानकका गोडा मक्कातर्फ फर्किएका थिए । एउटा मुसलमानले क्रोधित भएर नानकलाई हप्कायो, तिमी कस्ता काफिर हौ, जो अल्लाहतर्फ गोडा फर्काएर सुत्छौ ? नानक साहेबका मुखबाट निस्कियो, त्यसो भए जता अल्लाह छैनन् त्यता मेरा गोडा फर्काइदेऊ । अल्लाह मक्कामा मात्रै होइन, सबैतर्फ छन् ।
यो पनि भनिन्छ कि उनी मक्काबाट बगदाद गएका थिए । फर्किएर भारत आए पनि उनको यात्रा रोकिएन । उनी प्रायः मरदानाका साथमा यात्रा गर्न रुचाउँथे । उनीहरू जहाँ पुग्थे, त्यहीँ मरदाना रबाब बजाउँथे । नानक भजनकीर्तन गर्थे । अनि सर्वसाधारणलाई धर्मोपदेश दिन्थे । लंघरप्रसाद खान्थे । अनि अरूलाई खुवाउँथे ।
लामालामा यात्राले थाकेर र शरीर वृद्ध भएपछि उनी करतारपुर गएर विश्राम गर्न थाले । त्यहाँ उनी भजनकीर्तन र धर्मोपदेशमा लीन रहन थाले । यसै स्थानमा मरदानाले शरीर छाडे । करतारपुर गाउँमा नै गुरु नानकले जीवनका अन्तिम दिनहरू बिताए र यसै स्थानमा उनले आफ्नो मतको गद्दी पनि स्थापना गरे ।
गुरु नानकको नेपाल भ्रमण
सन् २०१५ मा गुरु नानकले नेपाल भ्रमण गरेको पाँच सय वर्ष बिते । त्यस उपलक्ष्यमा काठमाडौंको म्हैपीस्थित गुरु नानक मठमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । त्यसै मठमा गुरु नानकले आफ्ना निकट अनुयायी मरदानाको साथमा भजन, सत्संग, प्रवचन गरेका थिए । उनको प्रभाव यति तेजिलो थियो कि त्यतिबेला मल्ल राजाहरूसमेत उनको भक्ति देखेर नतमस्तक हुन पुगेका थिए ।
नानकका भ्रमणका बेलाका कान्तिपुरे राजा जयजगत मल्लले प्रभावित भएर बालाजुमा उनलाई मठ बनाउन प्रशस्तै जग्गा दिएका थिए । जो अझै सुरक्षित छ । अहिले त्यहाँ गुरु नानक परम्पराको एकतीसौं पुस्ता चलिरहेको छ । र, त्यहाँका वर्तमान प्रमुख महन्थ नेपाली मूलका शिख छन् ।
भारतको देशभक्त विश्वविद्यालयका डिन डा. दलबिन्दर सिंह ग्रेवालका अनुसार गुरु नानक तीन पटक नेपाल आएका थिए । अनि जब उनी यहाँ आए, नेपालका चप्पाचप्पा घुमेर उनले आफ्नो धर्मप्रचार गरेका थिए । नेपालका विभिन्न स्थानमा अझै पनि कैयन सक्रिय गुरुद्वाराहरू हुनु उक्त कुराका यथेष्ट प्रमाणहरू हुन् ।
स्यांगबोचे गुम्बामा गुरु नानकको मूर्ति र एउटा पाण्डुलिपि पनि फेला परेको छ । उनले नेपालको उत्तरी भेगका विभिन्न गुम्बा भ्रमण गरेर त्यहाँका रिम्पोछेहरूलाई भेटेका प्रमाणहरू पनि फेला परेका छन् ।
एकताका उनी नेपाल भारत सीमाछेउको भारतीय नगर सितामडी भन्ने स्थान हुँदै जनकपुर आएका थिए । त्यसपछि उनी विराटनगर हुँदै चतरा र बराहक्षेत्र पुगेका थिए । उनले स्यांगबोचे, नाम्चेबजार, खुम्जुंग तथा धवलागिरी आदि स्थानमा भ्रमण गरेका थिए । उनले कान्तिपुर, पाटन र भादगाउँको पनि भ्रमण गरे ।
डा. ग्रेवालका अनुसार नेपालको भ्रमण सकेर गुरु नानक तिब्बततिर लागेका थिए । तिब्बतका विभिन्न स्थान घुमेर उनी सिक्किम पनि पुगेका थिए । नेपालमा शिख धर्ममाथि पनि प्रशस्तै अनुसन्धान गरेका डा. ग्रेवालको ‘गुरु नानकको हिमायल यात्रा’ नामक पुस्तक र यस विषयमा कैयन लेखहरू प्रकाशित छन् ।
गद्दी स्थापना र देहत्याग
फिरोजपुर जिल्लाका एक जमिनदार पुत्र लहपरा गुरु नानकको सम्पर्कमा आएका थिए । सम्पर्कमा आएलगत्तै उनले नानकका चरणमा आफूलाई समर्पण गरे र शिष्य बने ।
गुरु नानकले आफ्नो शरीर वृद्ध बन्दै गएको कुरालाई मध्यनजर गरेर आफ्ना विचारहरू प्रचार गर्न तथा गद्दी सम्हाल्नका लागि उचित व्यक्ति खोज्न थाले । सबैको अड्कल उनका जेठा सुपुत्र श्रीचन्दतर्फ थियो जो आफ्ना पितालाई उनका कामहरूमा सघाइरहेका पनि थिए । तर नानकले उनलाई गद्दी दिएनन् । गद्दी पाए, उनका निकट शिष्य लहपराले । गुरु नानकले एक दिन लहपरालाई गद्दीमा राखेर उनका सामुन्ने पाँच पैसे ढ्याक र एउटा नरिवल राखेर ढोगिदिए ।
यसप्रकार, आफ्ना शिष्यलाई गुरु मर्यादाको ज्ञान दिएर गुरु नानकले भने, अब तिमी नै गुरु अंगद हौ । अब म पन्थ प्रचारको सारा जिम्मेवारी तिमीलाई नै सुम्पिन्छु । गुरु अंगदलाई असार १३, वि.सं. १५९६ तदनुसार १४ जुन, १५३९ ई. सं. मा गद्दी दिइएको थियो । यसको करिब अढाइ महिनापश्चात ७ सेप्टेम्बर सन् १५३९ मा गुरु नानकले शरीर छाडे ।
अन्त्येष्टि
भनिन्छ, जब गुरु नानकको शरीरको अन्तिम समय आयो, तब उनका हिन्दू र मुस्लिम अनुयायीहरूमा एउटा विवाद भयो । हिन्दू अनुयायीहरू गुरुको शवलाई जलाउन चाहन्थे भने उता मुस्लिम अनुयायीहरू भने जमिनमुनि गाड्न चाहन्थे ।
यसै मेसोमा वृद्ध भएका गुरु नानकले उनीहरूलाई सम्झाए, तिमीहरू नबाझ । मैले शरीर छाडेपछि शवलाई एउटा ओढ्नेले ढाकिदिनू । अनि मृत शरीरका दुवैतर्फ आआफ्ना तर्फबाट एउटा-एउटा फूल राखिदिनू । अर्को दिन जसको फूल ओइलाएको हुन्छ उनीहरूले आफ्नो हार मान्नू । र, जसको फूल ओइलाएन, उसले आफ्नो विधान मुताविक मेरो अन्त्येष्टी गर्नू ।
नानकले शरीर छाडेपछि त्यस्तै नै गरियो । तर अर्को दिन त्यहाँ केवल ओढ्ने र फूलमात्रै भेटिए । नानकको शव गायब थियो । अतः हिन्दू तथा मुसलमानले त्यही एकएक वटा फूल लगेर आआफ्नो किसिमले उनको दाहसंस्कार गरे ।
उता सन्त कविरका हिन्दू र मुसलमान अनुयायीहरूबीच पनि त्यस्तै विवाद भएको थियो र कविरले पनि त्यसरी नै फूलहरूको कुरा गरेका थिए । साथै, उनको शव पनि गायब भएको थियो । तर यता यसो पनि भनिन्छ कि, हिन्दू र मुस्लिम दुवै समूहले बनाएको गुरु नानकको समाधि रावी नदीले बगाइदिएको थियो ।
गुरु नानकको शिक्षा
गुरु नानकको शिक्षाको प्रमुख दस्तावेज गुरुग्रन्थ साहिबमा उनका वाणीहरूको कुल पद्य संख्या ९ सय ५४ छ । त्यसो त उनका हातबाट लेखिएको कुनै पाण्डुलिपि उपलब्ध छैन । तर मानिन्छ कि गुरुमुखी लिपिको प्रथम आवृत्तिस्वरूप उनले एउटा पाण्डुलिपि तयार पारेका थिए । विद्वानहरूको मत छ कि गुरुमुखीको रचना कुनै एक ब्यक्तिले गरेको होइन । न त कुनै समाजले त्यसको रूप गढेको हो । तथापि यो प्रागैतिहासिक कालको ब्राह्मीलिपिबाट क्रमशः परिवर्तन हुँदै जनतामा आइपुगेको हो भन्ने मान्यता पनि व्याप्त छ । फलस्वरूप, गुरुमुखी लिपिको श्रेय न गुरु नानकलाई दिइएको छ न त नानकपन्थलाई नै ।
गुरु नानकको मान्यता थियो कि प्रत्येक व्यक्तिका समीप ईश्वरको निवास हुने गर्दछ । तसर्थ, धर्म, जाति, लिंग, राज्यका आधारमा एकअर्कालाई भेदभाव गर्नु हुँदैन । उनले बताए कि सेवाअर्पण, कीर्तन, सत्संग र एक सर्वशक्तिमान ईश्वर नै शिख धर्मका बुनियादी धारणाहरू हुन् । जसको कोही हुँदैन, उसको ईश्वर हुन्छ । जसले हामीलाई जन्मायो, उसले नै हामीलाई पालनपोषण पनि गर्छ । केको अहंकार ? केको लोभ ? तिम्रो यहाँ के छ ? खाली हात आएर खाली हात यहाँबाट जाने हो । तर यदि तिमी दुनियाँका लागि केही गरेर जान्छौ भने, मरेर पनि तिमी भावी सन्ततिको हृदयमा जीवित रहने छौ । गुरु नानकको मुख्य मन्त्र हो, एक ओंकार सतनाम करता पुरखु निरभउ निरवैरु अकालमूरति अजुनी सेभं गुरप्रसादी ।
यसको सरल अर्थ,
ऊ एक र ओंकार स्वरूप छ
ऊ सतनामवाला तथा सृष्टि रचनेवाला कर्तापुरुष हो
ऊ निर्भय, निर्वैर, कालातीत, अविनाशी तथा स्वयम्भू हो
र, गुरु कृपाले मात्रै उसलाई प्राप्त गर्न सकिन्छ ।
उनी भोकालाई भोजनप्रसाद खुवाएर मात्रै भजनसत्संग गर्ने गराउँथे । गुरु नानकले भजन र भोजनलाई समिश्रण गरेर अमृत निकाल्ने चेष्टा गरे । नत्र भोको पेटमा केको भजन ?
गुरु नानक ईश्वरलाई आत्माभन्दा पर मानेर नियमित जप, ध्यान आदि गर्ने उपदेश दिने गर्दथे । उनी यसो पनि भन्ने गर्दथे, कह नानक बिनु आपा चिन्हें, मिटै न भ्रम की काई । आतमा परमातमा एको करै, अन्तरी की दुविधा अन्तरी मरै । अर्थात्, आत्मालाई नचिनिकन भ्रमको काई मेटिनेवाला छैन । आत्मा र परमात्मा एक भएपछि मात्रै दुविधाहरू हट्छन् ।
गुरु नानकका अन्य केही प्रख्यात वचन,
साधो, यह तन मिथ्या जानो ।
या भीतर जो राम बसता है
साचो ताहि पिछानो ।।
नानक परखो आपको, सो पारख जान ।
रोग दारु दोनों बूझै, सो बैद सुजान ।।
...
भुल्यो मन माया उरझायो
जो जो कर्म कियो लालच लग, तेही तेही आप बन्धुयो
समझ न परी बिखैरस राच्यो, जस घर को बिसरायो
संग स्वामी को जान्यो नाहीं, बन खोजनको धायो
रहत रतन घट ही के भितर, ताको ज्ञान न पायो
जन नानक भगवन्त भजन बिनु, बिरथा जनम गंवायो ।
...
समग्रमा, गुरु नानक एक सुधारवादी सन्त थिए । उनी मूर्तिपूजा, अवतारवाद, अन्धविश्वासपूर्ण कर्मकाण्डजस्ता कुराहरूको डटेर खण्डन गर्दथे । उनी मानव मात्रलाई एक सम्झिन्थे । तत्कालीन हिन्दू र मुसलमानको विवाद मेटाउनका लागि उनी दुवैलाई हप्काउन सक्ने तागत राख्थे । पण्डित र मुल्ला दुवैलाई आआफ्ना पाखण्डहरू परित्याग गरेर शत्पथमा हिँड्न उनी उपदेश दिने गर्दथे । उनी सबै किसिमका छुवाछूतका विरुद्ध थिए । काल्पनिक देवीदेवताको पाखण्ड-पूजा त्यागेर उनी सारा मनुष्यलाई गुरु तथा सन्तसँग सत्संग गरेर सत्य पथको पथिक बन्ने उपदेश दिने गर्दथे । सबैलाई उनी बाह्याडम्बर छाडेर सदाचारको मार्गमा हिँड्ने राय दिन्थे ।
उनी भोकालाई भोजनप्रसाद खुवाएर मात्रै भजनसत्संग गर्ने गराउँथे । गुरु नानकले भजन र भोजनलाई समिश्रण गरेर अमृत निकाल्ने चेष्टा गरे । नत्र भोको पेटमा केको भजन ? आज विश्वका कैयन स्थानहरूमा गुरु नानकको दर्शनबमोजिम गुरुद्वाराहरू खुलेका छन् । र, त्यहाँ नित्य भजन, कीर्तन र लंघरहरूको आयोजना हुने गर्दछन् ।
गुरु नानकका १० महत्वपूर्ण वाणीहरू :
- ईश्वर एक छन् ।
- सदैव केवल एक ईश्वरको उपासना गर ।
- जगत्को कर्ता हरतरफ र सब प्राणीमा मौजुद छ ।
- सर्वशक्तिमान ईश्वरको भक्ति गर्नेहरूलाई कसैको भय हुँदैन ।
- सबै स्त्री र पुरुष बराबर हुन् ।
- इमानदारीसाथ मेहनत गरेर जीविका गर्नु पर्दछ ।
- खराब काम गर्नेबारे सोच्नु पनि हुँदैन र कसैलाई सताउनु हुँदैन ।
- सदा प्रसन्न रहनु पर्दछ । ईश्वरसँग हमेशा क्षमायाचना गरिरहनु पर्दछ ।
- शरीरलाई जीवित राख्न भोजन जरुरी छ । तर लोभलालच र अनावश्यक भण्डारण खराब हो ।
- मेहनत र इमानदारिताका साथ कमाइ गरेर त्यसबाट जरुरत मन्दहरूलाई पनि केही दिनु पर्दछ ।
ओशोले भनेका छन्, 'गुरु नानकले परमात्मालाई गीत गाएरै प्राप्त गरे । नानकको मार्ग संगीतले भरपूर छ । त्यसैले उनको खोज सर्वथा भिन्न छ । नानकले योग, तप, ध्यान गरेनन् । नानकले केवल गाए । अनि गाएरै उनले पाए पनि । तर उनले प्राणको गहिराइबाट गाए । त्यसपछि त उनको गीत नै योग, तप र ध्यान हुनपुग्यो ।'
‘वाहे गुरुजी का खालसा वाहे गुरुजी की फतेह !’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया