नीति, विधि र पद्धतिलाई आत्मसात गरेर खटिन महानिरीक्षक अर्यालको निर्देशन
फाइल फाेटाे
काठमाडौं - सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका स्थानीय सर्वसाधारणलाई जिम्मेवार र जवाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी तुल्याइने बताएका छन् । ‘२४औँ सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा एपिएफ हेडक्वार्टर हल्चोकमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रम सञ्चालन गरिने बताए ।
महानिरीक्षक अर्यालले उच्च नैतिक चरित्रवान् भई व्यावसायिकता र असल आचरणको नमूना प्रस्तुत गर्न सकल दर्जालाई निर्देशन दिँदै आफ्नो कर्तव्यबाट विचलित र विमुख हुने छुट कसैलाई नभएको स्पष्ट पारे । “सङ्गठनमा नीति, विधि र पद्दति छ, यसलाई सबैले मनन् गरी प्रणाली र पद्दतिलाई आत्मसाथ गरेर कर्तव्यपथमा लाग्नुपर्छ”, उनले भने ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सङ्गठनका तर्फबाट पहिलो पटक २०८१ साल जेठ ७ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई एपीएफ सम्मान प्रदान गरे । त्यसअवसरमा महानिरीक्षक अर्यालले नागरिकको सेवा, सुरक्षा र सहयोग र उद्धारमा उत्कृष्ट कार्य गरी ‘वर्ष जवान–२०८१’ घोषित नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक हबल्दार किरणबहादुर भण्डारीलाई ‘वर्ष जवान’ को ट्याग प्रदान गरे ।
महानिरीक्षक अर्यालले यसवर्ष सर्वोत्कृष्ट इकाई हुन सफल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं २१ दक्षिणकाली गण ललितपुर, नं ३० गुल्म स्याङ्जा र मद्दत तथा सेवा गुल्म मकवानपुरलाई ‘रनिङ अवार्ड’ प्रदान गर्नुभयो । सो अवसरमा उत्कृष्ट कार्य गरेबापत सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापा पुरस्कृत भए ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
सो अवसरमा महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै सङ्गठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण र कर्तव्य पालनाको सिलसिलमा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । समारोहमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारी र परिवारजनको हकहितमा विभिन्न कल्याणकारी योजना घोषणा गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया