समाज

बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका

इकागज |
माघ १३, २०८१ आइतबार १२:२० बजे

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गत असोज १२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानका खेतमा थुपारेको गेगर पन्छाउन सहयोग सुरु गरेको छ । बाढीले थुपारेको बालुवा, गिट्टी र ढुङ्गा हटाएर पुनः खेती गर्न योग्य जमिन बनाउन नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।

सुनकोशीमा आएको भीषण बाढीले हलेसी तुवाचुङ नगरपालिकाको वडा नं २ डिकुवा, वडा नं ८ धितुङ र वडा नं ११ राजापानीका करिब एक सय ५० घरका स्थानीय किसानको करिब दुई सय ५० रोपनीभन्दा बढी खेत खण्डहर बनाएको छ । धितुङ र राजापानीको सिमानामा पर्ने भाडबेँसीका मात्रै ६० घर किसानको एक सय ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले ल्याएको गेगरले पुरिएको स्थानीयले बताएका छन् ।


भीषण बाढीका कारण पूर्ण क्षति बेहोरेका राजापानीका ३१ घर किसानलाई गत असोजमै नगरपालिकाले सात हजारको दरले राहत प्रदान गरेको थियो । आंशिक क्षति भएका किसानको भने खेतबारीमा थुप्रिएको गेगर नगरपालिकाको तर्फबाट जेसिबी लगाएर पन्छाइदिने निर्णय भएको थियो ।

भीषण बाढीले बगाएर ल्याएको गेगरले पुरिएका किसानको खेतबारीलाई पूर्ववत अवस्थामा फर्काएर खेती लगाउने वातावरण सृजना गर्न नगरपालिकाले जेसिबी प्रयोग गरेर बालुवा, गिट्टी र ढुङ्गा हटाइरहेको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । पूर्ण क्षति व्यहोरेका र आंशिक क्षति व्यहोरेका किसानको खेतबारीमा थुप्रिएको गेगर हटाउन नगरपालिकाले जेसिबी र आवश्यक डिजेल तथा अफ्रेटर उपलब्ध गराएको जनाइएको छ ।

असोजमा गएको भीषण बाढीले एउटै किसानको १५–२० रोपनी खेतबारी पुरिएको पाइएको नगरपालिकाले जनाएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सुनकोशी आसपासका क्षेत्र खेतीयोग्य जमिनमा पर्दछ ।


Author

थप समाचार
x