समाज

मालतीबाट छुटाइएका प्रकाश विश्वकर्माको प्रश्नः

‘मारेपछि भाइरल बनाउने कि ज्युँदैमा न्याय दिने ?’

टीकापुर पार्कमा पहिलो भेटदेखि विवाह र जबर्जस्ती बिछोडसम्म...

विष्णु विश्‍वकर्मा |
असार २५, २०७८ शुक्रबार २०:४७ बजे

काठमाडौँ : एक वर्ष अगाडि टीकापुर पार्कमा प्रकाश र मालतीको भेट भयो । समाज बुझ्दै गएका युवा युवती । शारीरिक आकर्षण स्वभाविक थियो । प्राकृतिक नियम उनीहरुमा पनि लागू भयो । 

नजर जुधेपछि निकटता बढ्यो । नम्बर साटासाट भयो । त्यसपछि माध्यम बन्यो फेसबुक । गफ हुन थाल्यो । कुरा मिल्न थाल्यो । चिनजान तीन पूस्तासम्म पुग्यो । समाज त उही हो । मनमा डर भने कायमै रह्याे । मालती रावल थिइन् ।


तर उनीहरुको मनको वेग रोकिएन । भावना साट्न छाडेनन् । यतिबेलासम्म सबैकुरा गोप्य थियो । मनमा मायाको संसार बसिसकेको थियो । प्रकाशलाई गाह्रो थिएन ।

तर मालतीलाई गाह्रो हुन थाल्यो । घरमा बिहेको दबाब बढ्यो । त्यसमाथि प्रकाशसँगको ‘लभचक्कर’ एकान दुई कान मैदान हुँदै गयो ।  प्रकाश र मालतीबीचको प्रेम डोरी यति कसिलो थियो कि बरु मर्नु परोस । तर छुट्न नपरोस ।

उनीहरुले यसका लागि बाचा बन्धन नै गरिसकेका थिए । तर समय सोचेजस्तो भएन । युवतीलाई दबाब झन् बढ्यो । मालती आत्तिन थालिन् । प्रकाश पनि रन्थनिए ।

‘एक वर्षअघि टीकापुर पार्कमा भेटेपछि कुरा हुन थालेको हो । त्यसपछि फेसबुकमा कुराँ हुँदै प्रेम गर्न थाल्यौँ’ उनले इकागजसँग टेलिफोनमा भने, ‘मालतीले नै चाहेपछि विवाह गरेका हौँ ।’ 

भागेर मन्दिरमा विवाह, जंगलमा बास !

सारा नेपालीलाई थाहा छ, रुकुम हत्याकाण्ड । वडाध्यक्षकै सलंग्नतामा जारकोटका नवराज विकसहित ६ युवालाई कुटी कुटी मारिएको एक वर्ष मात्रै पुगेको छ । नवराजलाई विवाह नगर्दै कुटेर मारियो । हामीलाई पनि मार्न बेर छैन । प्रकाशलाई यस्तै लाग्न थाल्यो । अर्को नवराज हुनुपर्ने डर उनमा अहिले पनि छ ।

त्यसमाथि मालतीको घरमा दबाब छँदै थियो । अब रुकुम हत्याकाण्ड निम्तिन धेरै दिन बाँकी छैन । बरु भाग्नुपर्छ । भागेरै विवाह पनि गरिहाल्नुपर्छ । बरु भारत जानुपर्ला । प्रकाशले यस्तै सोचे । मालतीले सहमति जनाइन् ।

यसका लागि प्रकाशले साथीहरुसँग सल्लाह गरे । साथीहरुलाई भने । तर घरमा भनेनन् । विवाहका लागि प्रकाशको घरमा पनि स्वीकृति थिएन । कथित रावलकी छोरीसँग विवाह गर्दा मारपिट भोग्नुपर्छ भन्ने त्रास प्रकाशका आमाबुवा र दाजुलाई थियो ।

डर छँदै थियो । डरै डर भएपनि लक्का जवानमा साहस आउँछ । प्रकाशलाई पनि लाग्यो । साहस गर्नुपर्छ । मरे मरिन्छ । डराउनु हुँदैन । मालतीले पनि साहस दिइन् ।

उनीहरु घरबाट भागे । साथीहरुले मन्दिरमा सबै कुराको बन्दोबस्त गरेका थिए । विवाह यति हतासमा गर्नुपर्ने थियो कि हावाको वेगमा बतासले पनि हार खाखोस ।
पूजारी बोलाइएन । मन्त्रपाठ पढाएनन् । साथीहरुले सिन्दुर र माला किनेर ल्याएका थिए । रातो सारीमा सजिएकी थिइन्, मालती । चश्मा लगाएर तम्तयार थिए, प्रकाश । 

मालतीको सिउँदोमा प्रकाशले सिन्दुर हाले । माला लगाए । मालतीले पनि माला लगाइदिइन् । एक छिन हाँसे । कतिबेला रुनुपर्ने हो ? दुवैलाई पत्तो थिएन । 
त्यसैले उनीहरु हतारमै हाँसे । हतारमै फोटो खिचाए । साथीहरुकै बलमा पोज दिए । मनमा आँधी चलेकै बेला प्रकाशले ओठमा मूस्कान ल्याए । त्यही मुस्कान क्यामेरामा कैद भयो । जुन क्षणिक थियो । 

मालती खुशी भइन् । प्रेम गरेको मान्छेले सिउँदोमा सिन्दुर हालिदिएपछि अरु खुशी के चाहियो र ? सँगै बाँच्ने, सँगै मर्ने बाचा मन्दिरकै ढुंगाको मूर्ति अगाडि गरे ।
मनको मन्दिरका भगवान त उनीहरु स्वयंम थिए । जो समाज परिवर्तनका लागि मनको मन्दिरबाट निस्केर समाजको विकृतिसँग युद्ध लड्दै थिए ।

यति काम उनीहरुले १० मिनेटमा सकेका थिए । कारण, कसैले देख्यो र थाहा पायो भने प्रकाश, प्रकाश रहदैनथे । नवराज विक भैहाल्थे ।  विवाहपछि मालतीले कपडा फुकाइन् । सारी झोलामा हालिन् । रेडिमेड टीसर्ट र पाइन्ट लगाइन् । सिउँदोमा सिन्दुर थियो । त्यो फगत रङ थिएन । रंगिएको सिउँदो रगतसँग मिसि सकेको थियो । साच्चै रगतमा कहाँ जात हुन्छ र ? जातमा कहाँ रगत छ र ? 

यो त समाजको ‘सोलिड’ अपराध थियो । तर बहुमतका अगाडि अल्पमतको के कुरा ? सुनुवाई धेरै पर हो । सुन्ने वित्तिकै ज्यानको बली चढाउनुपर्छ । नवराज विकहरुले ज्यानको बली चढाएर प्रकाशलाई होशियारी दिइसकेका थिए ।

‘प्रेम गरेदेखि विवाह गर्दासम्म मलाई नवराज विकहरु मारिएको रुकुम हत्याकाण्डको याद आइरह्यो’ उनले भोगाई बाँड्दै भने, ‘तर पछि हट्न मन मानेन । मालतीले साथ दिइन् । प्रकाशले हात थामे ।  जीन्दगीभर साथसाथै हिड्ने बाचा बन्धन थियो । 

‘प्रेम गरियो । विवाह गरियो । गर्नुपर्ने सबै काम गरियो । अब ज्यान बचाउनु थियो’ भावुक स्वरमा प्रकाशले सुनाए, ‘ज्यान बचाउनै एउटै उपाय जंगल थियो । जंगलमै गएर बस्ने निर्णय गर्यौ ।’

नवराज विकको हालत बनाउने श्रृङ्खलाबद्ध धम्की 

मालतीको हात समातेर प्रकाश जंगलको बाटो लागे । जंगलमै बसे । यसबीचमा उनी कैलाली मात्रै होइन । भाग्न र लुक्न सक्ने सबै ठाउँमा पुगे । तर धेरै बसाई घना जंगलकै बीचमा भयो । रातीमा आफन्तको घरमा लुके । बिहान भयो कि जंगल पसे ।

उनीहरुले यसरी नै हप्ता गुजारे । दुई हप्ता गुजारे । यसबीचमा युवतीका आफन्तको आक्रोश बढ्यो । खोजी गर्दा पनि भेटेनन् ।

प्रकाशसँग बिहे गरेर भागेको सुने । त्यो पनि कथित दलित समूदायको युवासँग भन्दै विष्फोट भए । उनीहरु प्रकाशलाई दलित होइन, डुम भन्थे । मारेर फाल्दिने जात भन्थे । त्यसपछि सुरु भयो धम्कीको श्रृङ्खला । हत्याको चेतावनी । नवराज विकको हालत बनाईदिने धम्की । 

युवतीका आफन्त रोशन खड्का भन्ने व्यक्तिले च्याटमा प्रकाशलाई धम्कीपूर्ण एसएमस पठाए, ‘मलाई फेस गर । होइन भने रुकुमकाण्ड गरिदिन्छु ।’
प्रकाशले हुन्छ, हेरौँला भनेर जवाफ फर्काए । प्रकाश त्यसपछि डराए । मालतीले च्याटमा आउने धम्कीको रिप्लाई दिन थालिन् ।

रोशनले फेरि लेखे, ‘तलाई पावर लगाएर जीन्दगीभर जेलमा सडाई दिन्छु । साला औकातमा बसेर कुरा गर ।’ 

रिप्लाईमा मालतीले लेखेकी छन्, ‘दादा मलाई भन्नु । मेरो बुढोलाई केही नगर्नुस ।’

फेरि रोशनले धम्क्याउँदै भने, ‘तलाई कसले कुरा गर भन्यो । त भाग । त दमाईसँग के कुरा गर्नु ? मेरो दिदी बहिनी धेरै छन् । त चाहिदैन । कुरा बुझ्नलाई मात्रै हो ।’
रुकुम हत्याकाण्ड दोहो¥याउन यति काफी थियो । अब मालतीलाई पनि डर लाग्न थाल्यो । प्रकाश पहिल्यैदेखि केही डराएका थिए । 

अनि जंगलमै भिडियो रेकर्ड गरेर दुवैले भने, ‘हामीलाई बचाउनुहोस’

जंगलमा लुक्दै ज्यान बचाइरहेका प्रकाश र मालतीको समाजयुद्ध कठिन बन्यो । प्रेमयुद्ध जितेका उनीहरु त्यसका लागि समाजलाई हराउन चाहन्थे ।
तर धम्की यसरी आयो कि कतिबेला सास र लास गायब हुन्छ पत्तो भएन । यही कुरा उनीहरुले आफन्तलाई सुनाए । साथीभाईलाई सुनाए । तर सबैले अवस्था जटिल बनिसकेको निक्र्यौल निकाले । 

बाँच्ने र मर्ने ठेगान थिएन । त्यसपछि हिम्मत गरे, जंगलबाटै भएपनि यसबारे बोल्नुपर्छ । सबैलाई आफ्नो कथाव्यथा सुनाउनुपर्छ ।

हातमा मोबाइल थियो । साथमा साहस । मुटु बलियो पारे । हात कसिलो बनाए । समाए मोबाइल । सेल्फी भिडियो बनाएर भने, ‘हामी अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा बसिरहेका छौँ । हामीलाई मार्ने धम्की दिइरहेका छन् । हामीलाई बचाउनुहोस ।’

यो भिडियो पाएलगत्तै इकागजबाट फोन गरेर प्रकाशलाई सोध्यौँ, ‘अवस्था कस्तो छ ?’

‘अहिले घर जाँदैछौँ । डर लागिरहेको छ । तपाईहरुको धेरै भन्दा धेरै सहयोग चाहियो दाई’ प्रकाशले भने । 

यतिञ्जेल उनको भिडियो भाइरल भइसकेको थियो । जंगलबाट उद्धार गरेर सुरक्षित राख्नुपर्यो भन्ने आवाज उठिसकेको थियो । उनीहरुको दर्दनाक कथा मिडियामा हेडलाइन बनिसकेको थियो ।

काठमाडौँको ध्यान कैलालीको भजनीपुर पुग्यो । जातीय विभेदको मुद्दा फेरि एकपटक तात्यो । सामाजिक सञ्जालभरी प्रकाश र मालती सुनिए । तर कथा त्यतिमै सकिएन ।

प्रकाशले रुँदै भने, ‘मालतीलाई खोसेर लिएर गए...।’ 

२१ दिन जंगलको बसाई सकेर उनीहरु घर फर्किदै गरेको कुरा युवतीका आफन्तलाई जानकारी दिइयो । त्यसपछि युवतीका आफन्त पुरै तयारीका साथ लागे ।
दर्जन बढी बाइक तयार पारे । आधा दर्जन गाडी । दर्जन बढी कार । संख्या एकिन छैन । कम्तीमा ३० देखि ४० जना प्रकाशकै घरमा आए ।

एकछिन सोधुपछ गर्छौै भनेर मालतीलाई बोलाए । त्यसपछि च्याप्प समाते । हिडँ भनेर गाडी भएकोतर्फ लागे । मालतीले प्रकाशलाई हेरिन् । प्रकाशले बुझिहाले । 
सोध्ने कुरा त बाहना मात्रै हो । मालतीलाई उठाउन लागेपछि प्रकाश अघि बढ्न खोजे । तर उनलाई मुक्का हानेर लडाइयो । मालतीलाई गाडीमा हालेर दर्जनौ गाडी धुँलो उडाएर फिल्मी शैलीमा भजनीबाट अम्रावती लाग्यो ।

मालतीलाई खोसेर लगेपछि प्रहरी कार्यालयमा आफन्त तथा अरु युवाहरुसँग प्रकाश ।

यस्तो हुन्छ भनेर सोच्दै नसोचेका प्रकाशले रुँदै टेलिफोन गरेर भने, ‘दाई मलाई कुटेर मालतीलाई उठाएर लगे । मलाई तपाईहरुको सहयोग चाहियो । मालती मेरी हुन् । उनको सिँउदोमा मैले सिन्दुर हालेको छु .....।’

यसको जवाफ मिडियासँग हुँदैन । उनी फोनमा चिच्याउँदै रुँदै बोलेको मात्रै सुनिरह्यौ । उनी केही शान्त भएपछि सोध्यौँ, ‘अब के गर्नुहुन्छ ।’

उनले रुँदै भने, ‘मलाई मारेपछि भाइरल बनाउने कि ज्युँदै हुँदा न्याय दिने ?’ 

र, यो पनि 

 

 

 


Author

थप समाचार
x