समाज

अनियन्त्रित डढेलो नियन्त्रणका लागि सर्वपक्षीय अनुरोध

इकागज |
माघ २५, २०८१ शुक्रबार १७:४० बजे

रसुवा- समुन्द्र सतहदेखि तीन हजार ८३२ मिटरको उचाइमा फैलिएको डढेलो नियन्त्रणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्जले सर्वपक्षीय सहयोगको आह्वान गरेको छ ।

निकुञ्जको आधार इलाकामा पर्ने नुवाकोट जिल्लाको दुप्चेश्वर गापा–१ मूलथला क्षेत्रको जङ्गलमा यही माघ २२ गतेदेखि अचानक लागेको डढेलो अनियन्त्रित भएपछि सहयोगका लागि अपिल गरिएको हो । सो निकुञ्जको नुवाकोटतर्फको आधार इलाकामा फैलिएको डेढेलोले अहिलेसम्म करिब १५ हेक्टर वन क्षेत्र सखाप पारेको र डढेलो तीव्र रुपमा फैलिरहेको निकुञ्जले जनाएको छ ।


लालीगुराँसलगायत विविध प्रजातिको वनस्पति भएको एक हजार ५०० भन्दा बढी हेक्टर बनजङ्गल आगोको चपेटामा परिसकेको बताउँदै निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्ज संरक्षणमा तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीको प्रयासले मात्र आगो नियन्त्रण गर्न कठिनाइ परेको बताए ।

डढेलो निभाउनका लागि स्थानीय जनसमुदाय, सामाजिक सङ्घसंस्थासहित हेलिकोप्टर कम्पनीहरूसँग समेत सहयोग माग गरिएको उनले जानकारी दिए । यो वर्ष हिमपात र पानी नपरेपछि सुक्खा खडेरी बढेको र जङ्गलमा पातपतिङ्गर समेत बढेकाले आगो नियन्त्रणका लागि माथिबाट पानी छ्याप्नेभन्दा अन्य विकल्प नभएकाले हेलिकोप्टर व्यवस्थापनका लागि रसुवा तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी र निकुञ्ज विभागलाई अनुरोध गरिएको निकुञ्जले स्पष्ट गरेको छ ।

विसं २०३२ मा स्थापना भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जमा ५७ प्रतिशत रसुवा, सात प्रतिशत नुवाकोट र ३६ प्रतिशत सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्र समेटिएको छ । बर्सेनि डढेलोको चपेटामा पर्ने सो क्षेत्रको संरक्षण अभियानमा साथ दिन निकुञ्जले स्थानीय समुदायसँग अनुरोध गर्दै आएको छ । रासस


Author

थप समाचार
x