हल्ट प्राइज एट शंकर देव क्याम्पसको ग्रान्ड फिनाले सम्पन्न

काठमाडाैँ - हल्ट प्राइज एट शंकर देव क्याम्पसको ग्रान्ड फिनाले बिहीवार नेपाल टुरिज्म बोर्ड, भृकुटीमण्डपमा सम्पन्न भएको छ। सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने यो प्रतियोगिता विश्वविद्यालय तहका विद्यार्थीहरूबिच व्यवसायिक विचार पिचिङ गर्ने प्लेटफर्म हो।
हल्ट प्राइज २०२४/२५ को यात्रा सन् २०२४ को अगस्टमा सुरू भई फेब्रुअरी २०२५ मा फिनालेका साथ सम्पन्न भएको हो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले समूह बनाई नवप्रवर्तनशील व्यवसायिक विचारहरू प्रस्तुत गरेका थिए।
फिनालेमा प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृहसचिव तथा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली तथा प्रमुख वक्ताका रूपमा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानको उपस्थिति रहेको थियो। प्रमुख अतिथि मैनालीले हल्ट प्राइज जस्तो प्रतियोगिताले सामाजिक उद्यमशीलताको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै प्रशंसा व्यक्त गरे। स्टार्टअपहरूलाई वित्तीय पहुँच आवश्यक भए पनि सरकारले नीति तथा कार्यक्रममार्फत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले विद्यार्थीहरूलाई व्यवसायिक सोच विकास गर्न प्रेरित गर्ने यस्ता प्रतियोगिताहरू महत्त्वपूर्ण हुने बताए। दृढ संकल्प र सही मार्गदर्शनका साथ कुनै पनि उद्यमलाई सफल बनाउन सकिने उनको धारणा थियो। उनले स्टार्टअपहरूलाई विभिन्न निकायहरूले सहयोग गर्नुपर्नेमा जोड दिँदै आयोजकलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा 'पर्यटन, व्यापार, रूपान्तरण: नेपालको व्यापारिक परिदृश्य' विषयक प्यानल छलफल पनि आयोजना गरिएको थियो। छलफलमा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की, गोल्डस्टारकी निर्देशक बिदुशी राणा तथा नेपाल माउन्टेनियरिङ एसोसिएसनका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालमा व्यापार र पर्यटनका अवसर तथा चुनौतीबारे प्रकाश पारे। उनीहरूले पर्यटन क्षेत्रमा नेपालले अझै बढी अवसरहरू खोज्नुपर्ने र निजी क्षेत्र, सरकारी निकाय तथा सरोकारवाला सबै पक्षले सहकार्य गर्नुपर्ने सुझाव दिए। प्यानल छलफलको सञ्चालन सृष्टि न्यौपाने र अनिल केसीले गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षण पाँच उत्कृष्ट टिमबीचको आइडिया पिचिङ थियो। निर्णायकका रूपमा उद्यमी सञ्जोक कोइराला, बैंकर मनोज ज्ञवाली र लोकेश ओली रहनुभएको थियो। प्रत्येक टिमले करिब आठ मिनेटको अवधिमा आफ्नो व्यवसायिक विचार प्रस्तुत गरेका थिए।
प्रतियोगितामा 'सफ्टिक्स ' टिम पहिलो स्थान हासिल गर्न सफल भयो भने 'प्योरपोड्स' दोस्रो तथा 'केजी पावर ४ ' तेस्रो स्थानमा रह्यो। निर्णायकहरूले सहभागीहरूको प्रस्तुतिलाई उच्च मूल्यांकन गर्दै उत्कृष्ट विचारहरूलाई निरन्तरता दिन सुझाव दिए।
कार्यक्रममा विद्यार्थी, पत्रकार, शिक्षक तथा विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दृश्य बिष्ट र आकृति सापकोटाले गरेका थिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया