समाज

दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन

इकागज |
फागुन १२, २०८१ सोमबार २०:१२ बजे

काठमाडौं - दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । 

दलितका लागि दलित अभियानको संयोजनमा विभिन्न दलित अधिकारवादी संघसंस्थाको सहभागितामा आज भएको प्रदर्शनका क्रममा माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको थियो । 


दलित हिंसा गर्नेमाथि कारबाही गर, अन्तरजातिय विवाह गर्नेहरूमाथि हुने हिंसा बन्द गर, दलितलाई खै ? लगायतका नारासहित प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले जानकारी दिए । 

दलित अधिकारकर्मीहरूले अन्तरजातीय विवाहपछि प्रहरीले पटक–पटक पक्राउ गरी दुःख दिएको भनिएका सिरहाका सत्येन्द्र राम र नेहा रौनियारको जोडीका बारेमा आवाज उठाउँदै आएका छन् । दलितका लागि दलित अभियानले राज्यका हरेक तहमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व, देशका विभिन्न भूभागमा जातीय विभेद, हत्या, छुवाछूतलगायतका विषय सम्बोधनको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ ।
 


Author

थप समाचार
x