समाज

ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौँ दम्पत्ति

इकागज |
फागुन १४, २०८१ बुधबार २१:४२ बजे

लमजुङ - शिवरात्रिमा रातभर उभिएर महादेवको नाउँमा बत्ती बाल्दा सन्तान प्राप्ति हुने विश्वासका कारण यहाँको ईशानेश्वर महादेव मन्दिरमा बत्ती बाल्न आज देशका विभिन्न स्थानबाट भक्तजनहरु करापुटार आइपुगेका छन् । 

लमजुङ र कास्कीको सिमानामा पर्ने ईशानेश्वरलाई सन्तानेश्वर महादेवको नामले समेत चिनिन्छ । यहाँ बर्सेनि हजारौँले भक्तजनले ठाडो बत्ती बाल्ने गर्दछन् ।  सन्तान प्राप्तिका लागि बत्ती बाल्नेहरू सन्तान प्राप्त भएपछि आफ्ना सन्तान देखाउनसमेत यहाँ आउने गर्छन् । 
 
रातभर जाग्राम रहनेलाई मनोरञ्जन प्रदान गर्न विभिन्न किसिमका कार्यक्रम आयोजना गरिने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । यस वर्षदेखि मन्दिर परिसरमा १०८ धारा र गौरीकुण्डसमेत निर्माण गरिदिएकाले  मेला भर्नेको सङ्ख्या वृद्धि भएको समितिले जनाएको छ । 


लमजुङ, तनहुँ, गोरखा, स्याङ्जा, चितवन, कास्की, बागलुङ, काठमाडौँलगायतका जिल्ला र भारतबाटसमेत यहाँ भक्तजन आएका छन् । यस वर्ष दुई दिनसम्म सञ्चालन हुने गरी खुल्ला भजन प्रतियोगितासमेत आयोजना गरिएको छ ।  

     


Author

थप समाचार
x